एमसीसी भन्ने प्रोजेक्ट हेर्दा राम्रो छ, तर चपाउन मासुजस्तै गाह्रो छ : चीन
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ ।
चीनले अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे पुनः टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीसँगको सम्झौता हेर्दा राम्रो भएपनि यसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने टिप्पणी गरेकी हुन् ।
‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ’, उनले टिप्पणी गरिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो छ, तर चपाउन मासुजस्तै गाह्रो छ ।’
पत्रकार सम्मेलनमा उनले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी कम्प्याक्टलाई नेपालले अनुमोदन नगरे द्विपक्षीय सम्बन्धमा असर पर्ने भनि दिएको अभिव्यक्ति समेत स्मरण गरेकी थिइन् ।
‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ । सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ,’ प्रवक्ता हुवा छुनयिङले भनिन् ।
नेपालको संसदमा एमसीसी पेश भइसकेको सन्दर्भमा चीनको यस्तो धारणा आएको हो ।