परमादेशले बनेको सरकार आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने छ : अध्यक्ष ओली
काठमाडौं, २८ फागुन : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिनुभएको छ ।
शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताउनु भएको हो ।
अध्यक्ष ओलीले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताउनु भयो । उहाँले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताउनु भयो ।
उहाँले निजामती कर्मचारीहरुले पूर्णरुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतक पार्टीहरु भएको बताउनु भयो ।
बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’