एमाले केन्द्रीय कमिटी बैठक पारित गरेका निर्णयहरू
काठमाडौं, चैत ११ गते : नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक हिजो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित गरेको छ ।
एमाले केनद्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझाव संकलन गरिएको र आसन्न स्थानीय निर्वाचनमा अत्यधिक बहुमतसहित पहिलो शक्ति बन्ने निष्कर्श निकालिएको छ ।
निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन गर्ने, पार्टीलाई थप प्रभावकारी बनाउने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिने भएको छ ।
सार्वजनिक कार्यक्रममा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको छ । यस्तै विधानअनुसार केन्द्रीय विभागमा ३५ सदस्य राख्न सकिने व्यवस्था रहेको छ ।
स्थानीय तहको उम्मेदवारको छ वटा मापदण्ड पारित गरिएको छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्ने, वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने छ । त्यस्तै, प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्दिय कमिटीले निर्णय गर्ने एमालेले बताएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी चैत १६ गते घोषणापत्र जारी गरिने छ । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल र दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको छ ।
पार्टीको वार्षिक क्यालेन्डर पारित, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, विगतमा सचिवालय बैठकका निर्णयको अनुमोदन गरिएको छ ।