माधव नेपाल र प्रचण्डलाई एमालेमा ल्याउने वा सहकार्य गर्ने गल्ती एमालेले गर्दैन : एमाले महासचिव पोखरेल
काठमाडौं चैत्र २७ : नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा ल्याउने वा सहकार्य गर्ने गल्ती नहुने बताउनुभएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा एमालेको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
पोखरेलले नेपाली कांग्रेसको नीति र शेरबहादुर देउवाको नेतृत्वलाई स्वीकार गरेर माधव–प्रचण्ड हिडेकोले एमालेले सहकार्य वा पार्टीमा स्वीकार गर्ने काम संभव नरहेको बताउदै ‘प्रचण्ड र माधवलाई पार्टीमा फिर्ता ल्याउने होइन, शेरबहादुर देउवातिरै धकेल्ने हो, उतै जान दिनुपर्छ, माधव र प्रचण्डको भ्रममा परेर त्यता लागेका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा स्वागत गर्नुपर्छ भन्नुभयो ।
पोखरेलले विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राख्नुभयो ।