एमाले केन्द्रीय सचिवालयको सातौँ बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू
बैशाख ६ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौँ बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले महत्वपूर्ण आठ ओटा निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन वर्तमान सरकारले सार्ने षडयन्त्र गरिरहेको भन्दै त्यसको कडा रुपमा विरोध गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।
‘स्थानीयतह निर्वाचनका लागि तयार गरेको घोषणापत्रको अन्तिम मस्यौदालाई पारित गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा, प्रदेशसभा राष्ट्रियसभाको बन्दसूचिमा नाम रहेका र अहिले विभिन्न कमिटीबाट उम्मेदवार बन्न सिफारिस भै आएका नामलाई बन्दसूचिबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय गरेका छौँ ।’
‘बैठकको निर्णय अनुसार अब सल्लाहकार परिषद्मा १ सय ७३ सदस्य रहने व्यवस्था थियो । अब २ सय ७८ जनाको परिषद् बन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘५१ जना मनोनयन गर्ने सम्पर्क समन्वय कमिटीको सिफारिसलाई पनि बैठकले अनुमोदन गरेको छ ।’ उपमहासचिव समेत रहनु भएका प्रचार विभाग प्रमुख गुरुङले सचिवालयले थप १२ ओटा विभाग गठन गरेको पनि जानकारी दिनुभयो ।
उहाँले वैशाख ९ गते स्थापना दिवसका दिन १७ जना जेष्ठ कम्युनिष्ट सम्मान कार्यक्रमको आयोजना गरेको पनि बताउनुभयो । त्यसैगरी ९ गतेबाट एमाले मुख्यालय तुलसीलाल अमात्य प्रतिष्ठानको भवन च्यासलमा सर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।