बनेपा : आवधिक योजनाको निरन्तरता, नागरिक मैत्री सेवा


रत्नकुश रञ्जित
नगर प्रमुखका उम्मेदवार, बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक

काभ्रे जिल्लाको वाणिज्य हबको रुपमा रहेको बनेपा नगरपालिकाले जिल्लाकै महत्वपूर्ण क्षेत्र र अवस्थालाई प्रतिनिधित्व गर्छ । ५५ वर्ग कि.मि. क्षेत्रफल रहेको नगरपालिकामा २०७८ सालमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा अनुसार १६ हजार ९७२ घरधुरी रहेको छ भने ३३ हजार १८० पुरुष र ३४ हजार ४४९ महिला गरी ६७ हजार ६२९ जनसंख्या रहेको छ । प्रशासनिक विभाजनको हिसाबले १४ वडामा यस नगरलाई विभाजन गरिएको छ । बनेपा नगरपालिका २०३८ साल चैत्र १४ गते नगर पञ्चायत घोषणा भएको काभ्रे जिल्लाको पहिलो नगरपालिका हो । साविक बनेपा नगर क्षेत्र वज्रयोगिनी गाविस बुडोललाई समेटेर बनेको यस नगरपालिकाको २०३९ देखि २०५४ सालसम्म भएका स्थानीय चुनावहरूमा प्रारम्भमा पञ्चायत पक्षधर जनप्रतिनिधि र त्यसपछि नेपाली कांग्रेस पार्टीको नेतृत्व रहेको थियो ।
देशमा विकसित राजनैतिक अस्थिरताका कारण करिव १५ वर्ष देशका स्थानीय तह जनप्रतिनिधिविहीन अवस्थामा रहन गए । संघीय नेपालको नयाँ संविधान २०७२ लागु भएपछि वि.सं.२०७४ वैशाख ३१ गते भएको विस्तारित बनेपा नगरपालिकाको पहिलो स्थानीय निर्वाचनमा पहिलो पटक नेकपा एमालेले नगर प्रमुख, उप प्रमुख सहित १४ वडामध्ये ९ वटा वडामा आफ्नो शानदार विजय हासिल गर्न सफल भएको थियो । नेकपा एमालेलाई विजय प्राप्त भएपछि नगरपालिकाको आर्थिक, सामाजिक सांस्कृतिक, प्रशासनिक र पर्यटकीय क्षेत्रमा उल्लेखनीय भूमिका खेली बनेपा नगरपालिकाको स्वरुपलाई नै परिवर्तन गरिदिएको अवस्था छ, अधुरा कार्यहरूको निरन्तरता र दिगो विकास निर्माणको लागि अब पनि बनेपा नगरपालिकामा नेकपा एमालेको नेतृत्व अपरिहार्य छ ।
यही अभिभारा पूरा गर्न नेकपा (एमाले) ले नगरप्रमुख पदमा
रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएको छ । प्रस्तुत छ, उहाँसँगको कुराकानी ः

स्थानीय निर्वाचनमा बनेपा नगरपालिकाको नगर प्रमुखमा तपाईको उम्मेदवारी किन ? के के काम भए, तपाईको पार्टीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरूको पाँचबर्षे कार्यकालमा ?

संघीय नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७४ मा पहिलो पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचन र प्रयोग पहिलो अभ्यास भएकाले प्रारम्भका केही महिना र वर्षहरू राज्यका तीनवटा तहका अधिकार बाँडफाँट, जनप्रतिनिधि, कार्यालय र कर्मचारीको व्यवस्थापन, विभिन्न ऐन, कार्यविधि निर्माण जस्ता कार्य गर्दा गर्दै वित्न गएकाले सबै क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न मुस्किल भएको अवस्था हो । यद्यपि बनेपा नगरपालिकाले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वन, पर्यटनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको बनेपा नगरपालिकाले आफ्नो कार्यकालमा सडक कालोपत्रे ५३ कि.मि., सडक ढलान ३४ कि.मि.गरेको छ भने ग्राभेल ४६ कि.मि गरेको छ । पक्की नाली १४ कि.मि., ढल निर्माण ३३ कि.मि, ग्याविन तथा मेशिनरी वाल निर्माण ४५ किमी, ढुङ्गा तथा इटा छाप्ने कार्य १९ कि.मि., नयाँ टंयाक निर्माण ११६ किमी., विद्यालय निर्माण र मर्मत सम्भार २७ वटा, पाटी, ट्रष्ट तथा किरियापुत्री भवन निर्माण २५ वटा, सामुदायिक भवन निर्माण १० वटा, मठ मन्दिर, पोखरी निर्माण र संरक्षण ८२ वटा, खेलमैदान १२ स्थानमा निर्माण गरिएको छ ।
त्यस्तै सिंचाई योजना २२ वटा, वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण र न्यूनतम कर्मचारीको ब्यवस्था गरी सेवा प्रदान गरिएको छ । नगरपालिकाका १७ वटा ऐन र २० वटा कार्यविधि, मापदण्ड तथा निर्देशिका निर्माण गरी कार्यान्वयन शुरु गरिएको छ । बनेपा नगर भित्रका ऐतिहासिक स्थल, मठमन्दिर तथा देवालय, चर्च तथा मस्जिद एवम् परम्परागत जात्रा,पर्व पुजाहरूको संरक्षणको कार्यविधि निर्माण गरी समिति मार्फत कार्यान्वयनको ब्यवस्था मिलाइएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अन्तर्गत बनेपा नगरपालिकाको धनेश्वर ट्याङकी र मगर गाउँमा रहेको फिल्टर ट्याङ्की परीक्षण प्रयोग भइसकेको छ । उक्त आयोजना सम्पन्नताको चरणमा धारामा पानी परीक्षण भइरहेको छ । अरनिको राजमार्ग दायाँबायाँ हरितपार्कसहित कालो पत्रे गर्ने कार्यलाई निरन्तरता प्रदान गरिएको छ । बनेपाको उत्तरी सिमानामा रहेको हिले जलजले सिमसारक्षेत्रमा बहुउद्देश्यीय ताल निर्माणको डिपिआर तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयन भएको छ ।
बनेपा १, १० र १३ मा पर्ने वासुकी नमुना पर्यटन प्रवद्र्धन केन्द्रको डिपिआर बनी कार्य प्रारम्भ भएको छ । बनेपा १३ भंैसीपाटी गाउँमा एक घर एक धारा, ६० घरधुरीलाई मिटर र धारा वितरण गरिएको छ । बनेपा नगरपालिकाको वडानं. १० र १३ को सिमानाको सार्वजनिक स्थलमा चलचित्र वोर्ड नेपालको अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माणका लागि डिपिआर तयार भएको छ । वडा नं १० र १३ को भित्री वस्तीको ६.७. कि.मि. सडक डिपिआर बनी कार्य प्रारम्भ भएको छ । कृषि र पशुपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउनकालागि कृषकहरूलाई कृषि सामग्री, बीउ विजन तथा उन्नत खालका पशु वितरण कार्यलाई अगाडि बढाईएको छ । महिलालाई उद्यमी बनाउनको लागि शिपमुलक तालिमहरू प्रदान गरी साना तथा घरेलु उद्योग सञ्चालनमा प्रोत्साहन गरिएको छ ।
नाला–काशिभञ्ज्याङ–गुरुङगाउँ–मण्डन देउपुर सडकको लागि बोलपत्र आह्वान गरिएको छ । नगरपालिकाभित्र रहेका बुबा आमा दुवै नभएका बालबालिकालाई मासिक ३००० सामाजिक सुरक्षा भत्ता दिने तथा उच्च शिक्षासम्मको शिक्षा निःशुल्क प्रदान गर्ने ब्यवस्था मिलाइएको छ । नगरभित्र रहेको रेयुकाई आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क मोतिया विन्दुको अप्रेशन गर्ने ब्यवस्था मिलाइएको छ । नगरपालिका क्षेत्रमा रहेका बहुपक्ष र बहुवर्षीय ठूला गौरवका योजनाहरू (प्रतिरक्षा विश्व विद्यालय, फिल्मसिटी, वडा नं ५ को चण्डेश्वरीदेखि वडा नं ६ स्थित गोसाईथानसम्म जोड्ने १६०० सिंढी, शान्ति पार्क, अन्तर्राष्ट्रिय कला केन्द्र निर्माण, भैंसीपाटी वाँसडोल सडक स्तरोन्नति, फुटसल निर्माण, फोहोरमैला दिगो व्यवस्थापन, बनेपा १० र ११ पानीमा ट्याङ्की निर्माण गरी डिपवोरिङ मार्फत पानी आपूर्तिको ब्यवस्था, नगरकोट प्रवेशद्वार निर्माण, राधाकृष्ण पिकनिक स्पट निर्माण, सपनेश्वर महादेवस्थल निर्माण, बनेपा ४ मा आकाशदेवी पार्क निर्माण, बनेपा ५ को चप्लेटीमा पार्क निर्माण, नालामा रहेको भीमसेन मन्दिर, कालीदेवी मन्दिर भगवती मन्दिर संरक्षण, सागामा सेतो गणेश मन्दिर कालिदेवी मन्दिर भगवती मन्दिर संरक्षण, वडा नं ३ ऐसेलुघारी वडा नं ९ लामा गाउँ, वडा नं ४ भण्डारीगाउँ माथिको तामाङ वस्तीको खानेपानी योजनाहरू, चण्डेश्वरी गोसाईथान टनचोक वडा नं ९ को बाजेबजै पार्क, वडा नं ९ मा वौद्धिक अपाङ्गता भएकाहरूको लागि विद्यालय भवन निर्माण, काशिभज्याङ हुँदै बासुकी जाने ट्रेकिङ मार्ग साँगा आशापुरी सडक हुँदै सल्ले जाने बाटो, वडा नं १० को रेशम मार्ग हुँदै अमलडोल वडा नं १ को गुम्बाडाँडा जोड्ने बाटो, विकटेश्वर बुढाथोकी गाउँ प्रहरी स्कुल हँुदै साँगा जोडिने बाटो जस्ता योजनाहरू डिपिआर तयार भई कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् ।
विकास निरन्तर चल्ने जीवन्त प्रक्रिया भएकाले नगरमा थालनी भएका पूरा हुन बाँकी आवाधिक आयोजनाहरू र सुरु गरिने नयाँ योजनाहरूलाई अझै ब्यवस्थित र उन्नत स्तरबाट सञ्चालन गर्न विकासको विउको रुपमा रहेको नेकपा एमालेको नेतृत्वलाई यस पटकको निर्वाचनमा पनि अत्यधिक बहुमतका साथ विजय गराउन अनुरोध गर्दछु ।

अब पाँच वर्षमा के गर्नुहुन्छ ?
हाम्रो पार्टीले विगतका कामहरूको निरन्तरताका साथै नयाँ योजनाहरू तयार गरेको छ । हामीले प्रतिवद्धतापत्रमा पनि धेरै कुरा उल्लेख गरेका छौं । बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरूमा आवाश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्रछात्राको लागि छुट्टै शौचालय, खानेपानीको व्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको ब्यवस्था गरिने छ । प्रत्येक विद्यालयमा रहेका बाल विकास केन्द्रहरूको स्तर उन्नति गरी बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई उचित पारिश्रमिक र तालिमको ब्यवस्था गरिने छ । सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको ब्यवस्थापन, शैक्षिक सामग्री, पुस्तकालय, शिक्षकलाई तालिम जस्ता कार्यमा जोड दिई सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धि गर्दै अभिभावकहरूको सामुदायिक विद्यालयमा आकर्षण बढाउने कार्य गरिने छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रत्येक घरमा पु¥याउने साथै आर्थिक अवस्था अति कमजोर भएका, अशक्त अपाङ्गता भएका ब्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिने नीति अवलम्बन गरिने छ । १४ वटा वडामा रहेका स्वास्थ्य चौकीमा आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण, शौचालय र खानेपानीको व्यवस्था, कर्मचारीको व्यवस्थापन, औषधि र सामग्रीहरूको व्यवस्था गरी स्वास्थ्य चौकीले दिने सेवाको गुणस्तर वृद्धि गर्दै उक्त स्वास्थ्य चौकीमा प्रसूति कक्ष, खोपकेन्द्र, आधुनिक उपकरणसहितको प्रयोगशाला समेतको ब्यवस्था गरिने छ ।
बनेपा नगरभित्रका विपन्न, दलित, जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका ब्यक्ति, दीर्घरोगी र एकल महिलालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । नगरभित्रका गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, आर्थिक अवस्था कमजोर भएका र दीर्घ रोगीहरूलाई निःशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने छ ।
उपत्यका एकीकृत खानेपानीको बाँकी कामलाई यथाशीघ्र सम्पन्न गरी पानी वितरण गर्ने कामको व्यवस्था मिलाइने छ । एक घर एक धारा र एक घर एक शौचालयको अवधारणालाई मूर्तरूप दिईने छ ।
बनेपा नगरपालिकाको वडा नं १३ र १४ मा सुरु भएको बृहत खानेपानी योजनाको कामलाई एक वर्षभित्रमा सम्पन्न गरिने छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनको लागि कृषिमा अनुदान, सहुलियत कर्जा, मल र बीउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गरिने छ ।
कृषकलाई आवश्यक कृषि सामग्री, मल बीउविजन सरल मूल्यमा खरिद गर्ने र कृषकले उत्पादन गरेका वस्तुहरूको उचित मूल्यसहित बिक्री गर्न सहज हुने गरी कृषि सहकारीहरूको साझेदारीमा नगरपालिकाद्वारा नाला, सागाँ र बनेपाको बुडोलमा कृषि सामग्री संकलन तथा वितरण केन्द्र निर्माण तथा सञ्चालन गरिने छ ।
नगरभित्र रहेका ऐतिहासिक मन्दिरहरू चण्डेश्वरी, धनेश्वरी, उग्रेश्वर, नासिका, विकटेश्वर, नाला भगवती, करुणामाई, महेन्द्रज्योति, कालीदेवी चामुण्डादेवी, बुडोलको गोसाईकुण्ड, सपनेश्वर श्वेतबारा, मनकामना, उग्रेश्वर, जलेश्वर महादेव, आशापुरी, बाल्मिकेश्वर, महादेव, ढकाल गणेश, विकटेश्वर मन्दिर, सारदादेवी मन्दिर, नाला टुकुचा गणेश मन्दिर, टुकुचा अमल्डोल मन्दिर, ईन्द्रशोभा मन्दिर लगायत चैते गुम्वा मन्दिर, मस्जित, चर्च लगायतका धार्मिक स्थलहरूको आवश्यकता अनुसार थप भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नेछौं ।
आशापुरीदेखि धनेश्वर, चण्डेश्वरी, वासुकी, नाला भगवति, कर्णमाई, बिकटेश्वर हुँदै साँगा महादेव जोड्ने धार्मिक पर्यटकीय मार्गको निर्माण गरिने छ ।
बनेपाको लायकुमा सुविधा सम्पन्न नेवारी कला र सँस्कृति झल्कने संग्रहालय स्थापना गरी ऐतिहासिक र सांस्कृतिक वस्तुको प्रदर्शनी तथा संरक्षण गरिने छ । बनेपा ९ मा रहेको २५ रोपनी जग्गामा अन्तर्राष्ट्रिय कलाकेन्द्र निर्माण योजनालाई निरन्तरता दिई यथाशीघ्र सम्पन्न गरिने छ । बनेपा बसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी उक्त भवनको भुर्इंतलामा पार्किङ अन्य तलाहरूमा फुटपाथमा रहेका पसलहरूको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याइने छ ।
नगरका १४ वडा जोड्ने चक्रपथको निर्माण गरिने छ । प्रत्येक वडालाई जोड्ने मुख्य सडकलाई कालोपत्रे गर्ने र अन्य शाखा सडकहरूको स्तरोन्नति गरी सडक पेटीको निर्माण गर्दै लगिने छ । बनेपा नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गाको खोजी गर्ने र भौगोलिक अवस्था अनुसारको क्षेत्र निर्धारण जसमध्ये बन क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, ब्यापारिक क्षेत्र आदि निर्धारण गरी ब्यवस्थित सहरको अवधारण ल्याउने छ ।
उपयुक्त स्थानको छनौट गरी औद्योगिक क्षेत्रको स्थापना गरिने छ । फुटपाथका पसल तथा पार्किङलाई उचित व्यवस्थापन गरिने छ । ठूला व्यापार व्यवसाय गर्न मिल्ने पूर्वाधारहरूको विकास गरिने छ । बनेपा नगरभित्र रहेका सेवामूलक तथा अन्य व्यवसायलाई सुचिकृत गरी अभिलेख राखिने छ । नगरभित्र रहेका सेवामूलक तथा अन्य व्यवसायलाई सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्दै लगिने छ । नगरभित्र रहेका निजी उद्योग तथा व्यवसायहरूमा आवश्यक कर्मचारीहरू नियुक्ती गर्दा नगरभित्रका नागरिकलाई प्राथमिकता दिन पहल गरिने छ ।
नगरभित्र उद्योग सञ्चालन गर्नको लागि निजीक्षेत्रसँंग समन्वय र सहकार्य गरी उक्त उद्योगहरूमा रोजगारीको सिर्जना गरिने छ । उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहने युवाहरूलाई नगरक्षेत्रभित्र रहेका वित्तीय संस्थासँग समन्वय गरी सहज र सहुलियत कर्जाको व्यवस्था गरिने छ । कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गरिने छ ।
बालमैत्री वडा घोषणा हुन बाँकी वडाहरूलाई यथाशीघ्र आवश्यक कार्य सम्पन्न गरी बालमैत्री वडा घोषणा गर्दै एक वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने छ । एक वडा एक बाल उद्यानको अवधारणा अगाडि सारी प्रत्येक वडामा चिल्ड्रेन पार्कसहितको बाल उद्यानको निर्माण गरिने छ ।
सबै विद्यालय र समुदायमा बाल समूह निर्माण गरी बालबालिकाको सवालमा बालबालिकाकै सहभागितालाई प्रोत्साहन गरिने छ ।
नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकसित गरिने छ । नगरपालिकाभरिको डिजिटल जियोडेटाबेस निर्माण गरी हरेक कार्ययोजनाको निर्माण गर्दा डिजिटल जियोडेटा बेसको प्रयोग गरिनेछ । नगरपालिकाभरिका सम्पूर्ण प्रशासनिक क्रियाकलापहरूलाई डिजिटल माध्यमबाट गरिनेछ ।
रोजगारीमूलक उद्योगलाई शुरुका तीनवर्ष कर छुटको व्यवस्था गरिने छ । साना तथा घरेलु उद्योग, स्थानीय कच्चापदार्थमा आधारित साना उद्योग, काष्ठकला, हस्तकला, कृषि उद्योगलाई बिना शुल्क दर्ता एवं आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिने छ । निर्माण ब्यवसाय, निजी यातायात सेवा, रिक्सा लगायतका अनौपचारिक सेवा क्षेत्रलाई परिधिभित्र रही ब्यवस्थित गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई