वीरेन्द्रनगरमा चुनाव जित्ने एमालेले नै हो : मोहनमाया ढकाल


मोहनमाया ढकाल
नगर प्रमुुख उम्मेदवार, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

नेकपा एमालेकी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला सहइन्चार्ज एवं वीरेन्द्रनगर नगरपालिकाकी निवर्तमान उपमेयर मोहनमाया ढकाल एमालेबाट मेयर पदमा गठबन्धनसँग प्रतिष्पर्धा गर्दै हुनुुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेयरमा विजयी भएकी युवा नेतृ ढकालको उम्मेदवारीले वीरेन्द्रनगरबासी उत्साहित भएका छन् । काममा लगनशिलता, स्वभावमा सरलता,पार्टी र संगठनप्रतिको प्रतिवद्धता, जनताका दुःखमा सधैं सदाशयता मोहनमायालाई वीरेन्द्रनगरबासीले दिने उपमा हुन् । छोटो समयमा चुलिँदो राजनीतिक यात्राका क्रममा ढकाललाई अर्को एउटा अवसर आएको छ, त्यो हो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पहिलो महिला मेयर बन्ने । काँग्रेस माओवादीको फितलो गठबन्धन भन्दा फराकिलो अन्तरले अगाडि देखिएकी ढकाल अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ । वडा नं १ मा घरदैलोमै व्यस्त रहेका बेला नवयुगले ढकालसँग वीरेन्द्रनगरको चुनावी माहोलका बिषयमा केही प्रश्नहरु सोधेको थियो । प्रस्तुत छ ढकालसँगको कुराकानी ः
चुनावी अभियान कसरी बढाउँदै हुनुहुन्छ ?
हामीले उम्मेदवारी दर्ता गरेको आज ११ दिन भयो । उम्मेदवारी दर्ता गरेपछि औपचारिक रुपमा चुनाव प्रचारप्रसारका लागि जनताको घरआँगनमा पुगेका छौं । उम्मेदवारी दर्ता भन्दा अघि पार्टीका एजेण्डा र चुनाव जित्ने रणनीति बनाउनमा व्यस्त भयौं । त्यसबीचमा हामीले प्रदेश कमिटीदेखि टोल कमिटीसम्मका सबै बैठकहरु ग¥यौं । र, हामीले वीरेन्द्रनगरमा मात्र होइन कर्णाली प्रदेशमा नै पार्टीलाई पहिलो बनाउने कार्ययोजना पास गरेका छौं । त्यसै अनुसार वीरेन्द्रनगरमा पनि घरदैलोमा जाने, आफ्ना कुरा भन्ने, हामीप्रतिका गुनासा सुन्ने, हामीसँग भएका केही असमझदारीका कुराहरु समाधान गर्ने काम गरिरहेका छौं ।
यसैगरी विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वहरुसँग अलग अलग भेटघाट र बैठकहरु गर्ने, उहाँहरुका सुझाव सुन्ने काम भइरहेका छन् । केही संगठन र पेशागत क्षेत्रका व्यक्तित्वहरुसँगको भेटघाट जारी नै छ ।
यसबीचमा हामीले केही वडाहरुमा घरदैलो सक्यौं । पार्टीले नगरपालिकामा जितेपछि आगामी पाँचवर्षमा के गर्छ भन्ने कुराको प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छौं ।
तपाईंले आगामी पाँचवर्षमा के गर्नुहुन्छ भन्ने पनि जनतालाई जिज्ञासा होला, त्यो भन्दा पहिले त तपाईंले वितेको पाँच बर्ष उपमेयर हुँदा के गर्नुभयो भन्ने पनि नगरबासीको चासो छ । के के गर्नुभयो पाँचवर्षमा ?
अघिल्लो पटक म मेयर होइन, उपमेयरमा निर्वाचित भएकी हुँ । संविधान र कानुनले मेयर र उपमेयरले गर्ने कामका क्षेत्रहरु तोकिदिएको छ । उपमेयरलाई दिएका मुख्य कामहरु न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक आदि । मेरा अधिकार क्षेत्रभित्रका कामहरु मैले विवादरहित, जनताका पक्षमा कुशलतापूवर्क निर्वाह गरेको छु । मेरो पालामा करिब ८० वटा नयाँ कानुनहरु बने । योजनाहरुको अनुगमन समयमै र प्राविधिक हिसाबले उपयुक्त हुने देखेपछि मात्र सम्पन्नताको सिफारिस गरिएको छ ।
नगरपालिकामा म उपमेयर भए पनि एमालेको तर्फबाट म मेयरकै भूमिकामा थिंएँ । जसले गर्दा पार्टीले सिफारिस गरेका योजनाको कार्यान्वयन, पार्टीको तर्फबाट कार्यपालिकामा लैजाने एजेण्डाहरुको सरसल्लाह मैले पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र गरें । महिलाहरुलाई रोजगारी, पाठेघरको निशुल्क जाँच, महिनावारी भएका बेला छात्राहरुले विद्यालय नछोडुन् भनेर निःशुल्क स्यानीटरी प्याड वितरण गरियो । त्यस्तै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्दछ भनेर धेरैवटा विद्यालयमा कम्प्यूटर, ल्यापटप र इन्टरनेटको प्रवन्ध गरिएको छ ।
विद्यालय र साना नानीहरुका समस्या आफैं बुझ्न र थाहा पाउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर केही विद्यालयमा म आफैं गंए । महिनाको एक पटक एउटा कक्षा कोठामा ४० मिनेट बिताउने मेरो यो कार्यक्रम कोरोनाले गर्दा निरन्तरता पाउन सकेन । तर जति ठाउँ म जान सकें, विद्यार्थी र विद्यालयका समस्या नजिकबाट अनुभूति गर्न पाएँ । यसले गर्दा शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तनका कामहरु गर्ने प्रेरणा मैले पांएँ ।
तपाईंको कार्यकालका उपलब्धिलाई बुँदागत रुपमा बताइदिनुस्न ।
उपलब्धि धेरै छन् । म उपमेयर भएर गएपछि गरेका कामहरु आम नगरबासीले देख्नुभएको छ । हामी निर्वाचित भएर गएको वर्ष कानुन बनाउनमा बित्यो । दोस्रो वर्ष उत्साहपूर्ण ढंगले काम गर्दै थियौं । कोरोनाले हाम्रो गतिमा ब्रेक लगाइदियो । कोरोनाकालमा मेयर पारिवारिक कारणले लकडाउनभरि नगरपालिकामा हुनुहुन्थेन । त्यसैले कार्यवाहक मेयरको रुपमा कोरोनाको पहिलो काल मेरै नेतृत्वमा पार लगाएको सबै नगरबासीलाई थाहा छ । राहत बाँड्ने, क्वारेन्टाइन बनाउने, गाडी खोजेर अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याउने यी सबै काम मेरै नेतृत्वमा भएका हुन् ।
भौतिक पूर्वाधार र अन्य क्षेत्रमा मेरा पाँचवर्षमा भएका धेरै काममध्ये केहीलाई म यसरी सम्झन्छु ।
१.योजनामा परेका सडक कालोपत्रे
२.चक्रपथ बिस्तारलाई निरन्तरता
३.हटलाइन सेवा सञ्चालन
४.नगरका जीर्ण विद्यालय भवन निर्माण
५.महिला तथा बालबालिकाका लागि नगर अस्पताल सञ्चालन
६.काँक्रेबिहार र बुलबुले ताल पुनःनिर्माण
७.छोरी जन्म बचत कार्यक्रम
८.कोरोनाकालको प्रभावकारी व्यवस्थापन
९.कोरोना खोप प्रभावकारी ढंगले सञ्चालन
१०.एक घर दुई विरुवा, हामी आफै कुरुवा कार्यक्रम

अब मेयर भएपछि के गर्नुहुन्छ ?
जनप्रतिनिधि भनेको व्यक्ति होइन, संस्था हो । संस्थामा सामूहिक निर्णय हुन्छ । तर नेतृत्व गर्ने व्यक्तिको भिजन महत्वपूर्ण हुन्छ । हाम्रो पार्टीले मेयर उपमेयरलाई चुनाव जिताएपछि के गर्छ भनेर हामीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । जुन तपाईंंले पाइसक्नुभएको छ । त्यसमा हे¥यो भने पूर्वाधार विकासदेखि सहकारीसम्मका ११ वटा मूल क्षेत्रहरुमा हामीले गर्ने करिब दुईसय वटा कामका क्षेत्रहरु हामीले तोकेका छौं । त्यसमध्ये कुनै तत्काल, कुनै मध्यकाल र कुनै पाँचै वर्ष लाग्ने गरीका काम तय गरेका छौं । यो प्रतिवद्धता पत्र हाम्रो पार्टीका टोल कमिटी, वडा कमिटी, विभिन्न जनवर्गीय संगठनहरुका सुझाव र मागका आधारमा तय गरिएकोले तिनको कार्यान्वयन मेरो पहिलो प्राथमिकता हुन्छ ।
गठबन्धनसँग चुनाव जित्ने आधार के छन् तपाईंका ?
जायज प्रश्न सोध्नु भयो । गठबन्धन कस्तो बेलामा हुन्छ ? तपाईंलाई थाहा होला जब कोही व्यक्ति कमजोर हुन्छ अनि उसले अर्काको सहारा लिन्छ अर्थात गठबन्धन गर्छ । हो, अहिलेको गठबन्धन बलियो एमाले विरुद्ध कमजोरहरुले गरेको मिलेमतो हो । जसको कुनै भिजन, मिसन र वीरेन्द्रनगरलाई दिने योजना छैन । यो केवल एमालेको लोकप्रियता,अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देश विकासको हुटहुटी, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुनिने र देखिने देश बनाएकोमा अन्य पार्टीहरु अत्तालिएर बनाएको एउटा गठजोड हो । विभिन्न षडयन्त्रबाट करिब दुईतिहाइ बहुमतको आफ्नै पार्टीको सरकार ढालेर परमादेशबाट वर्तमान सरकार बनेको हो । तर, अझै उनीहरुलाई एमाले र केपी ओली मजबुद छन्, चुनाव हराउन सकिँदैन भन्ने नै छ । र, वास्तविकता पनि त्यही हो । एक्लाएक्लै एमालेसँग भिड्न त उनीहरुले आँटै गरेनन् । गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने झिनो आशा बोकेर खुकुलो गठबन्धन बनाएर हामीसँग भिड्न आएका छन् । तर,आफैंभित्रको समस्यामा अल्झिएका गठबन्धनका घटकहरुले एमालेलाई हराउने हैन, फराकिलो अन्तरका उपविजेता हुनेछन् उनीहरु ।
एमाले एकतावद्ध भएर लागेको छ त चुनावमा ?
एमालेको नीति, विधि, सिद्धान्त र बिचारमा बिमति राख्नेहरु पार्टी छोडेर गइसके । त्यसैले अहिलेको एमाले एकतावद्ध छ । केपी शर्मा ओलीको नेतृत्वमा भएका आम नेता कार्यकर्ता एमालेलाई स्थानीय चुनावमा भारी मतका साथ विजयी गराएर आउने संघीय र प्रदेशको निर्वाचनमा दुईतिहाइका साथ पार्टीलाई सरकारमा पु¥याउन आतुर छन् । त्यो अवस्था देशभरि जस्तै वीरेन्द्रनगरमा पनि छ ।
मसहित अन्य कमरेडहरुले पनि मेयरमा दाबी गर्नुभयो । हामीले लामो छलफल ग¥यौं । सहमति खोज्न समय लगायौं । तर हामीले निर्वाचन गरेर बहुमत, अल्पमतको निर्णय गरेनांै । अन्त्यमा मेरो नाममा सर्वसम्मति भयो । आकांक्षी कमरेडहरु अहिले निर्वाचन जिताउने अग्रमोर्चामा हुनुहुन्छ । उहाँहरु मेरो अग्रज पनि हो । उहाँहरुको सद्भाव, आम कार्यकर्ताको लगाव र नगरबासी सबै मतदाताको मायाले मैले चुनाव जित्दैछु । एमालेले वीरेन्द्रनगरमा विजयको झण्डा गाड्दैछ । त्यति मात्र होइन, २०७९ साल जेठको पहिलो हप्ता वीरेन्द्रनगरले प्रथम महिला मेयरको इतिहास पनि रच्दैछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई