काठमाडौंका भित्री सहरका मतदाता एमालेकै पक्षमा
काठमाडौं, बैशाख २४ : काठमाडौं महानगरपालिकाका नेकपा एमालेलेका तर्फबाट मेयरदका उम्मेदवार केशव स्थापित, उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका उम्मेदवारले आज भित्रि सहरका ११ वटा वडामा एकै पटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेका छन् । भित्रि सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एकै पटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेको नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो ।
हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो । मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा सहभागी उम्मेदवारलाई स्वागत गरेका थिए भने केही ठाउँमा सगुन खुवाएर विजयीको शुभकामना दिएका थिए । जैशीदेवल नजिकै पदयात्रासहितको र्याली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले खुशी हुँदै मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जितको शुभकामना दिनुभयो ।
हातमा बोकेको नेवारी सगुन अर्थात अण्डा, माछा, रक्सीसहितले मोतिदेवी लगायतको टीमले स्वागत गर्दा प्यालामा दिएको रक्सी अलिकति मुखमा राखेर मेयर पदका उम्मेदवार स्थापित आफ्नै पारामा मुस्कुराउनुभयो र भन्नुभयो– ‘आमाको हातबाट सगुन खायौँ अब जित सुनिश्चित भयो ।’ प्यालामा दिएको रक्सी मेयरले अलिकति मुखमा राख्दा छेउमै रहनु भएकी उपमेयरकी उम्मेदवार डंगोल थोरै मुस्कुराउनु भयो । उहाँले पनि मेयर पदकै उम्मेदवार स्थापितको बोलीमा लोली मिलाउँदै भन्नुभयो– म वडा–२१ कै मतदाता हुँ, यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले हामी थप उत्साहित भएका छौँ । हाम्रो जित सुनिश्चित छ ।’
त्यसो त जैसीदेवल आसपासमै भेटिनु भएकी ज्ञानुदेवी महर्जनले पनि बृद्धबृद्धाको रेखदेख गर्ने पार्टी एमालेका उम्मेदवारलाई आफ्नो घर–दैलोमै भेट्दा खुशी लागेको भन्दै जितको शुभकामना दिनुभयो । पुरानो र रैथाने नेवारहरुको बस्तीको उत्साहजनक सहभागिताले जित सुनिश्चित भएको प्रतिक्रिया अन्य वडाका उम्मेदवारहरुले पनि दिनुभयो । सो क्रममा मतदाताहरुले आफूहरु मतदान गर्न आतुर रहेको बताउनु भयो । ‘जिताउने त केशव स्थापित र सुनिता डंगोलको टीमलाई नै हो,’ मतदाताको भनाई थियो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ का संयोजक ईश्वर पोखरेलले उद्घाटन गरेपछि सुरु भएको पदयात्रामा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्यहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायत पनि सहभागी हुनुहुन्थ्यो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मेयर र उपमेयरका उम्मेदवारले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउने सपना बोकेको भन्दै उहाँहरुको सपना पूरा गर्न सूर्य चिन्हमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले एमालेले उम्मेदवारहरुलाई घर–घरमा गएर एमालेका नीति, कार्यक्रम र उदेश्यबारे बुझाउन पनि आग्रह गर्नुभयो ।