वृद्धदेखि बालकले आई लभ यू भन्न थाले : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धदेखि बालकसम्मले आफूलाई आई लभ यू भन्न थालेको बताउनु भएको छ । इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताउदै भन्नुभयो, ‘गठबन्धनको कता जाने ? के गर्ने ? भन्ने गन्तब्य छैन । सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो । वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन् ?’
गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको उहाँको टिप्पणी थियो।
अर्को प्रसंगमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका मतदातालाई सातो जाने गरी हप्काएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्ति प्रचण्डले खुरुक्क हँसिया हथौडामा भोट हालेर मेरी छोरी नजिताए दुर्घटना हुन्छ, जिताए भने खुशी हुन्छु र गठबन्धन १०, १५ ,२० वर्ष लैजान्छु भनेछन्, दुर्घटनाको धाक नदिए हुन्छ अन्तिममा उहाँले चिसै पानीले नुहाउने हो।’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘हिजो देउवाजीले महिला उठाएकाले काठमाडौं र भरतपुरमा मेयर जिताउनुपर्छ भन्नुभएछ त्यसो भए हामीले ५५ ठाउँमा पालिका अध्यक्ष वा मेयरमा महिलालाई उठाएका छौं, ती ठाउँमा तपाईँहरुले उम्मेदवारी फिर्ता लिनुस्।’
गठबन्धनका नाममा महिलाका हक खोसेर महिला जिताउनुपर्छ भन्नुको कुनै तुक नहुने ओलीको भनाइ छ। उहाँले भन्नुभयो, ‘गठबन्धनका नाममा महिलाका हक खोस्ने अनि महिलाको कुरा गर्ने ?’