१६ करोड भ्रष्टाचारको आरोपमा बीपी प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भ्रष्टाचार भएको आशंकामा तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास सहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार उक्त प्रकरणमा १६ करोड भन्दा बढीको भ्रष्टाचार भएको छ। अदुअयाको अनुसन्धानले विभिन्न समयमा भएका खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको देखिएको छ। आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। साथै आयोगले लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, सप्लार्यस चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध समेत मुद्दा दर्ता गरेको छ।
सामान तथा सेवा खरिद प्रकृयाका क्रममा न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेर दासले ४ करोड ८ लाख ९८ हजार, सिन्हाले ३ करोड ७५ लाख ३० हजार, तत्कालीन रजिष्टार थापाले १ करोड ९६ लाख ९ हजार र रजिष्टार श्रेष्ठले ५६ लाख ७७ हजार भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुलाई त्यही रकम बरावरको बिगो कायम गरी कैद र सजायको माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनु भएको छ। प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल विरुद्ध २ करोड ३४ लाख ८१ हजार र उपप्रबन्धक श्रीवास्तवविरुद्ध १ करोड ७४ हजार १६ लाख रुपैयाँ विगो माग दाबी गरिएको छ। प्रतिष्ठानका पदाधिकारीसँग मिलेर खरिद सम्झौता गरी भुक्तानी लिने प्रोसिजन मेडिकल प्रालि रवायोमेड इन्टरनेसनल प्रालिका प्रमुख चेतन अग्रवालले १ करोड ४ लाख १६ हजार, सर्जिकेम डिस्टिव्युटर्सका सञ्चालक उमेश अग्रवालले ६० लाख ३६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।