सरकारबाट भएको धाँधलीको भण्डाफोर गर्दै एमालेले सार्वजनिक गर्यो १५ प्रमाण (बिज्ञप्तीसहित)


 

काठमाडौं, जेठ १ : नेकपा एमालेले निर्वाचनमा सत्तारुढ गठबन्धनले आचारसंहिताबिपरित अनेकौं हर्कत गरेको फेहरिस्तसहित भण्डाफोर गरेको छ । एमाले महासचिव शंकर पोखरेलले आज बिज्ञप्ती जारी गर्दै निर्वाचन अगाडि र निर्वाचन पछाडि गठबन्धनले जनमतको अपमान गर्ने गरी हर्कत गरेको भन्दै कडा प्रतिवादको चेतावनी दिनुभएको छ ।

‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ । यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ । हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ,’ महासचिव पोखरेलले बिज्ञप्तीमार्फत भन्नुभएको छ, ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भयो । मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

महासचिव पोखरेलको बिज्ञप्तीअनुसार निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरु खटाएको छ । यस्तै एमालेका पक्षमा रहेका मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरिएको छ । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरी मौन अवधिमा बुटवललगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदा समेत रोक्न कुनै सार्थक प्रयास नगरिएको पनि उहाँले बताउनु भएको छ ।

बिज्ञप्तीको पूर्णपाठ
जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत् राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो । यसैले संविधान निर्माणको क्रममा नेकपा (एमाले) राज्यको माथिल्लो तह संघीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।

सत्ताधारी गठबन्धनको स्थानीय निर्वाचन नगराउने षड्यन्त्रलाई परास्त गर्दै २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ । यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ । हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ । निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भयो । मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।

निर्वाचन सुरु हुनुुभन्दा अगाडि–
– निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरु खटाएको ।
– हाम्रा मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरियो । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको ।

– मौन अवधिमा बुटवललगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदा समेत रोक्न कुनै सार्थक प्रयास गरिएन ।

मतदानको समयमा–
– निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भयो ।

– उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको छ ।

– पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच गरिएको छ ।

– निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुुर्याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।

– निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरियो ।

– निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भए ।

– स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको छ । केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए ।

मतगणनाको समयमा–
– मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ ।

– मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिंदैछ ।

– मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको ।

– मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको छ । हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं ।

– मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले)ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको छ ।

हामी सत्ता गठबन्धनबाट नेकपा (एमाले) विरुद्ध गरिऐका मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं ।

पुनः मतदान र मतगणनाको लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र हामीले २०७९/१/३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदन अनुसार निष्पक्ष तबरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गर्दछ ।

शंकर पोखरेल
महासचिव

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई