लेतेमाथिको पहाडमा ठूलो आवाज आयो, पाइलटको मोबाइलमा घण्टी बज्यो
म्याग्दी, जेठ १५ गते । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको आशङ्का गरिएको छ । लेतेका स्थानीयवासीले पहाडमा जहाज ठोकिएको हुनसक्ने आशङ्का गरेका छन् ।
टिटी तालभन्दा पारिपट्टि हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएको मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकोप्टर पठाइएको छ । पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका सदस्यसहित छजना विदेशी र १३ जना नेपाली नागरिक थिए ।