उपहारमा पाएको सुनको लौरो राज्यलाई दिने दुर्गा प्रसाईको घोषणा
काठमाडौं, ५ असार : नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गर्नुभएको छ । बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहनुभएको प्रसाईलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिनुभएको थियो ।
आज प्रसाईले उक्त लौरो राज्यलाई उपहार दिने बताउनुभयो । उहाँले भन्नुभयो,‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि, के को हो, के को हो भन्ने सोध्ने कुरो पनि भएन । तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु, हेरेको छैन ।’ उहाँले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताउनुभयो ।
‘लौरो/लौरो भनेर धेरै कुरा आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’ प्रसाईले भन्नुभयो, ‘गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु ।’ उहाँले थप्नुभयो, ‘मेरा बिजनेस पार्टनर (दुबईका राजकुमार) ले दिएको लौरो राज्यलाई दिन मलाई समस्या छैन ।’