नेकपा एसले केन्द्रीय समितिबाटै दियो प्रधानमन्त्रीलाई अल्टिमेटम, सत्ता गठबन्धनबाट बाहिरिनेसम्मको चेतावनी
काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र खेल्न खोजेको निष्कर्ष निकालेको छ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीभित्रको तनाव व्यवस्थापन गर्ने नाममा देउवा र प्रचण्डले आफूहरुको पार्टीमा खेल्न खोजेको भन्दै खबरदारी गर्ने निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीले मन्त्री हेरफेरमा अब देउवा र प्रचण्डलाई नपर्खिने र निर्णय कार्यान्वयन नगरेसम्म सत्ता गठबन्धनबाट बाहिरिनेसम्मको अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएको छ।
‘मन्त्री हेरफेरका सम्बन्धमा आजसम्म हामीले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँलाई पर्खिने छैनौं। तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउनुस। पार्टीको निर्णयलाई कदर गर्नुस। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने हामी यसलाई तपाईंहरुले गरेको अपमान ठान्ने छौं,’ केन्द्रीय समितिको निश्कर्ष सुनाउँदै बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ।