नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गर्नुभएको छ ।
७१ औं मदन जयन्तीका अवसरमा प्रेस चौतारीले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले उक्त कुरा बताउनु भएको हो ।
पौडेलले नेता आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा आउँदा अनावश्यक सम्मान आवश्यक नहुने बताउनु भएको हो ।
पौडेलले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउदै जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो । पौडेलले एमाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ ओठेभक्ति र स्तुति होइन‚ मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।
मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पुर्याउन आफू निरन्तर लागेको बताउनुभयो ।
भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उहाँले बताउनुभयो ।