“भेइकल ट्रयाकिङ सिस्मट” के हो? (संक्षिप्त जानकारी)
-उमेश दुलाल
मालवस्तुको आन्तरिक ओसारपसार गर्दा मालवस्तु तथा ढुवानीको साधनको बारेमा जानकारी दिनेगरि सरकारले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (Vehicle and Consignment Tracking System) को विकास गरेको छ। यो प्रणाली यसै आर्थिक बर्षको शुरुवात अर्थात श्रावण १ गते देखि लागु गरिएको छ।
यो व्यवस्था लागु भएसँगै यस प्रणालीको विरोधमा व्यवसायीहरुले आन्दोलन शुरु गरि सकेकाछन। सरकार नक्कली बिल बिजक जारी गरि कर छल्ने प्रबृति बढेकोले यो प्रणाली लागु गर्न चाहेको बताइ रहेको छ भने प्रकृया झन्झटिलो भएको, इन्टरनेटको पहुच सबैमा नभएको भन्दै व्यवसायीहरु आन्दोलित छन। व्यवसायी माझ यो प्रणालिको प्रयोगलाई अभ्यस्त गराउन सरकारले यो प्रणालीको परिक्षणकाल ३ महिना तोकेको छ भने परिक्षण काल घटिमा १ बर्षको हुनु पर्ने आन्दोलित व्यवसायीहरुको माग रहेको छ। राजश्व छलिका प्रत्यक्ष घटनामा बाहेक अन्य घटनामा परिक्षणकाल भरि दण्ड जरिवाना नगर्ने विभागले स्पष्ट पारेको छ।
के हो मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली?
मालवस्तुहरु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्दा मालवस्तु र ढुवानी गर्ने सवारी साधनको जानकारी राजश्व कार्यलयलाई अनलाईन मार्फत दिनुपर्ने व्यवस्था हो मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली। यस व्यवस्था अनुसार मालवस्तुको आन्तिरक ओसार पसार गर्नु अघि मालवस्तुको किसिम, परिमाण, मुल्य, सवारी साधनको जानकारी, उत्पतीको स्थान र गन्तव्य आदीको जानकारी अनुगमन प्रणालि मार्फत विभागलाई दिनुपर्ने हुन्छ।
यो प्रणाली कसकसमा लागु हुन्छ?
यो व्यवस्था सम्पुर्ण कारोबारमा आर्कषित हुँदैन, व्यवसायिक कारोबारहरुमा मात्र यो प्रणालीे आर्कषित हुन्छ। साथै यो प्रणाली सबै व्यवसायिक कारोबारमा लागु हुँदैन, केबल थोक स्तरमा हुने कारोबारमा मात्र यो प्रणाली लागु हुन्छ। खुद्रा कारोबार वा घरायसी प्रयोजनमा यो प्रणाली लागु हुँदैन। साथै कृषिउपजहरु किसानबाट प्रत्यक्ष रुपमा खरिद गर्दा पनि यो प्रणालीमा जानकारी दिनु पर्दैन।
कसरी मालवस्तुको जानकारी उपलब्ध गराउने
राजश्व अनुसन्धान विभागले विकास गरेको अनुगमन प्रणालीमा गएर आवस्यक जानकारी प्रविष्ट गर्नुपर्छ। यो प्रणालीमा जानकारी प्रविष्ट गर्न विभाग वा कार्यलय धाउनु पर्ने आवस्यकता पर्दैन, व्यवसायीले आफ्नो अफिस वा घर जुनसुकै ठाउँबाट प्रणालीको वेवसाइटमा अनलाईन जानकारी दिए पुग्छ। जस्कालागि व्यवसायीले युजर आइडी र पासवर्ड बनाउनु पर्नेहुन्छ। युजर आइडी र पासवर्ड आफै लिन सकिन्छ, यसको लागि विभाग वा कार्यालय जानु पर्ने अवश्यक पर्दैन। विभागको वेवसाइटमा गएर आवश्वयक जानकारी तथा प्रमाणपत्रको डिजिटलकपी अपलोड गरि युजर आइडी र पासवर्ड प्राप्त गर्न सकिन्छ। विभागले SMS मार्फत जानकारी दिने सकिने गरि यो प्रणालीको विकास गरे व्यवसायीहरुलाई थप सुविधा हुनसक्ने थियो।