२०७४ मा एमालेले ३३ प्रतिशत मत पाएकोमा अहिले सबै पार्टीको गठबन्धन हुँदा पनि बढेर ३४ प्रतिशत हुनु सकारात्मक हो :महासचिव पोखरेल
पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले सांगठानिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्न प्रशिक्षण अभियान सञ्चालन गर्नेभएको छ ।
गण्डकी प्रदेश कमिटीको शनिबार बसेको ११ औं पूर्ण बैठकले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार साउन महिनामा भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा कमी कमजोरी भएको भए सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको मत संरक्षण र पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने खाँचो औल्याउँदै महासचिव पोखरेलले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचन २०७४ मा पार्टीले ३३ प्रतिशत मत पाएकोमा अहिले सबै पार्टीको गठबन्धन हुँदा पनि बढेर ३४ प्रतिशत हुनु सकारात्मक हो ।
बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले साउन ८ गते गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला, साउन १७ गते जनवर्गीय संगठनका भेला, साउन २८ गते जनप्रतिनिधिहरूको प्रशिक्षण गर्ने निर्णय गरेको प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।
पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साउन १० गते सबै जिल्ला कमिटीको बैठक गर्न निर्देशन गरेको छ ।
पार्टीले साउन १२ गते मुस्ताङ, म्याग्दी र बागलुङ र साउनको १३ गते कास्की, पर्वत र तनतनहुँको प्रशिक्षण भेला गर्ने जानकारी दिदै सचिव दवाडीले साउन १४ गते स्याङ्जा, गोरखा र लमजुङमा प्रशिक्षण भेला गर्ने बताउनुभयो ।
साउनको १५ गते नवलपुर र मनाङमा प्रशिक्षण दिइने भएको छ । सबै जिल्लाले साउनको १६ देखि २५ गतेसम्म पालिका स्तरीय प्रशिक्षण गरी सक्न बैठकले निर्देशन दिने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन २०७९को समीक्षासहित भावी योजना पनि तय गरेको छ ।