जनार्दन शर्मालाई दोहोर्याएर अर्थमन्त्री बनाउदा गोरु पनि लजायो होला : पूर्वप्रधानमन्त्री ओली
काठमाडौं, साउन १७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनार्दन शर्मालाई दोहोर्याएर अर्थमन्त्री बनाएर सत्तारुढ गठबन्धनको निर्लज्ज काम गरेको टिप्पणी गर्नुभएको छ ।
तुलसीलाल अमात्यको स्मृति दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । जनार्दन शर्मा दोहोर्याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ ओलीको भनाई छ । ‘नेपाली जनतालाई कतिसम्म हेपेको ? नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला ? गोरु पनि लजायो होला,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताउनु भयो । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो ।’
बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । त्यसपछि शर्माले राजीनामा दिनुभएको थियो । शर्माले आफ्नो अपराध छोप्न सिसीटिभी फुटेज नै डिलिट गराउनु भएको थियो । सोही आधारमा अधुरो छानविन गर्दै संसदीय समितिले बहुमतका आधारमा बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको पुष्टि नभएको प्रतिवेदन दिएको थियो ।
एमालेका चार सदस्यले फरक मतसहित जनार्दन दोषी रहेको तथ्य पनि प्रतिवेदनमै राखेका थिए तर बहुमतको निर्णयले चोख्याउने काम गरेपछि शर्मा पुन अर्थमन्त्री नियुक्त गरिएको थियो । ओलीले सत्तारुढको यो कामबाट गोरु पनि लजाएको भन्नुभएको हो ।