एमाले अध्यक्ष ओलीद्धारा पार्टी एकताको प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा मालेका महासचिव सीपी मैनालीको चुनावी गठबन्धनको प्रस्ताव र आग्रहको जवाफमा निर्वाचनमा गठबन्धन मात्र किन ? पार्टी एकता गरौं भन्नुभएको छ ।
तुल्सीलाल अमात्यको २५औं स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘प्रतिक्रियावादीहरूले चुनौती खडा गरिरहेको बेला किन चुनावी एकता मात्र । विचार, सिद्धान्त, देशको विकास, सुशासन सबै कुरा मिल्छ भने ठूलो भाँडोमा पकाएको ढिडो सँगै खाउँ ।’
अध्यक्ष ओलीले क.तुल्सीलाल अमात्यको तस्वीर र शालिकमा माल्यार्पण गर्नुका साथै सम्मान प्रकट गर्नुभयो । त्यसैगरी, २०१० सालमा आजकै दिन मारिनुभएका भीमदत्त पन्त र बलदेव रामप्रति पनि श्रद्धासुमन प्रकट गर्नुभयो ।
अध्यक्ष ओलीले त्यस अवसरमा तुल्सीलाल अमात्यको ‘बुद्ध, बुद्धत्व र बुद्धदर्शन’ पुस्तक लोकार्पण गर्नुभएको थियो भने प्रतिष्ठानद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिताका विजयी विद्यार्थीलाई पुुरस्कार वितरण गर्नुभयो ।