उनीहरूले डेमोक्रेटिक पार्टीलाई विनास गर्दैछन् । तर समृद्ध अमेरिकालाई विनास गर्न उनीहरूको कुनै सामथ्र्य रहने छैन : ट्रम्प
वासिङ्टन, ६ साउन (रासस÷एएफपी) : डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।” ट्रम्पको डेमोक्रेटिक पार्टीका सांसदहरू, अलेक्जेड्रिया ओकासियो–कोर्टेज, रसिदा त्लाइब, इल्हान ओमार र आयन्ना प्रेस्लीतर्फ सङ्केत गर्दै उनीहरू जहाँबाट आएका हुन् त्यतै फर्किनु उचित भएको भन्ने भनाईलाई थप सान्दर्भिक तुल्याउन पुनः नयाँ अभिव्यक्ति दिनुभएको हो । उहाँले भन्नुभयो, “उनीहरूले डेमोक्रेटिक पार्टीलाई विनास गर्दैछन् । तर समृद्ध अमेरिकालाई विनास गर्न उनीहरूको कुनै सामथ्र्य रहने छैन । उनीहरू कमजोर र असुरक्षित छन् ।” वामपन्थी विचारको पक्षधर अमेरिकी अल्पसङ्ख्यक ती सांसदहरूको भनाईप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरू जहाँबाट आएका हुन् त्यही जान भन्नुभएको एक हप्ता पछि पुनः अर्को अभिव्यक्ति आएको हो । हिस्पानिक, अरबी, सोमानियाली, र अफ्रिकी मुलका सांसदमध्ये तीन अमेरिकामा नै जन्मेहुर्केका अमेरिकी नागरिक हुन् । ओमारसहितका ती सांसदलाई ट्रम्पले अमेरिकालाई दुष्टहरूको शक्ति देख्ने वामपन्थी विचारका प्रशंसक भएको भनी दिएको अभिव्यक्तिले ट्रम्पका हजारौ समर्थक तथा सहयोगीलाई हौसला प्रदान गरेको थियो । उनीहरूले अमेरिकी रिपब्लिकनको प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा प्रदर्शनसमेत गरेका थिए । तर अमेरिकी राष्ट्रपतिको उक्त भनाईप्रति अमेरिकी डेमोक्रेट्स नेतासँगै बेलायती प्रधानमन्त्री टरिजा मे, जर्मन चान्सलर एन्जेला मर्केलसहितका केही यूरोपेली नेताहरूले समेत आलोचना गरेका थिए ।