नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखी
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने ब्यालेन्स नेल २२–५५३० नामक संयुक्त तालिम आजदेखी सुरु हुँदैछ ।
नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।
तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।
युएस एअरफोर्सको सी १३० उडानमा उक्त टोली सोझै आएको बताइन्छ ।