चुनावपछिको प्रधानमन्त्री केपी ओली
काठमाडौं, भदौ १२ । नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।
नेकपा एमालेले मंशिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ।बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ ।
बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभएको थियो । ज्ञवालीको प्रस्तावलाई सर्वसम्मत रुपमा बैठकले निर्णयका रुपमा पारित गरेको हो ।
त्यसै गरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ । यसै बीचमा अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ निर्वाचित बनेका नेताहरूलाई यस पटक दोहोर्याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।