एमाले अध्यक्ष ओलीलाई एमाले शुभचिन्तकको मार्मिक पत्र


आखिर किन एकनाथ र भट्टचन???
कमरेड श्री केपी शर्मा ओली,
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको अन्तिम परिणाम आइसकेको छ । राष्ट्रिय दल ७ वटा बनेका छन् र समानुपातिकबाट सांसद हुने नामावली पनि पार्टीहरूले निर्वाचन आयोगमा पेश गरेका छन् । यो समानुपातिकको सूची हेर्दा लाग्छ समानुपातिक भनेको केही हदसम्म आरक्षण कोटा त्यसका साथसाथै पारिवारिक कोटा र हुनेखानेको कोटा भनेर बुझ्नुपर्ने भयो ।
अरू दलको कुरा छोडेर नेकपा एमालेमा लागौँ । नेकपा एमालेको समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने बेलामा सबैभन्दा चर्चित नाम थियो एकनाथ ढकाल र देवी भट्टचन । सामाजिक सञ्जालमा केही हदसम्म खबरदारी त भयो तर नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै पार्टीका बफादार कार्यकर्ताबाट ठूलो बिरोध भने भएन त्यसैले होला पार्टी नेतृत्वको मनोबल बढेर अहिले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा एकनाथ ढकाल र देवी भट्टचन सिफारिस भए ।
चाहे होलीवाइन होस् या ओलीवाइन, त्यो विषयमा मैले लेख्न चाहिनँ । न महासचिव शंकर पोख्रेलको बहिनी समानुपातिकमा परेको विषय जोड्न चाहेँ न उपाध्यक्ष राम बहादुर थापा बादलकी श्रीमती अटाएको विषयमा लेख्न चाहेँ । हिजो सरकारमा रहँदा भगवान राम नेपालको ठोरीमा जन्मेका हुन् भनेर रोइलो गरेर हिँड्ने, होलीवाइनको खुबै विरोध गरेर माधव कुमार नेपाललाई पनि गाली गर्दै हिँड्ने कमरेडले आज के आधारमा होलीवाइनको नाइके उर्फ नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सूचीमा राखे भन्ने विषयमा चर्चा भएको छ । भोलि कम्युनिष्ट पार्टीमा त धर्म भन्ने कुरा गौण भन्ने होलान् । देवी भट्टचन जो हिजो नेपाली काँग्रेसमा थिए, उनको नाम काँग्रेसले समानुपातिकको सूचीमा प्रथम लाइनमा नराखेका कारण पार्टी छोडेर एमालेमा प्रवेश गरे । र प्रवेश गर्नेबित्तिकै उनको नाम समानुपातिकको सूचिमा राखियो ।
मुख्य प्रश्‍न के हो भने ढकाल र भट्टचनको नेकपा एमालेमा योगदान के हो? के कम्युनिष्ट पार्टीको सांसद बन्न पार्टीमा योगदान नचाहिने हो? उनीहरूको नेकपा एमालेमा पार्टी सदस्यता कहिले देखिको छ? कृपया पार्टीको नेतृत्वले यसको जवाफ ती तमाम बफादार कार्यकर्तालाई दिनै पर्छ । अर्को चुनावमा ढकाल र भट्टचनले फेरि टिकट नपाएको झोँकमा पार्टी बदले भने त्यसको जवाफदेही कसले दिने? के नेकपा एमालेमा वर्षौँदेखि लडेका, संघर्ष गरेका, योगदान दिएका नेताहरू मरिसकेका हुन् र? होइन भने समानुपातिक शब्द र जनताको अभिमतको नेकपा एमालेले धज्जी किन उडाएको? चौतर्फी घेराबन्दीमा हुँदा पनि जनताले समानुपातिक या लोकप्रिय मतमा एमालेलाई नै अगाडी राखेको होइन? जनताकासामु लोकप्रिय भएको पार्टीको यस्तो हर्कत किन?
पाँच वर्ष पछि अर्को चुनाव नहुने हो भने पार्टीले जे जस्तो हत्कण्डा अपनाए पनि सहन सक्लान् पार्टी कार्यकर्ताले नत्र चौतर्फी आलोचना हुँदा पनि नेतृत्वले सुध्रिने प्रयास नगर्ने हो भने अध्यक्ष केपी ओलीको वरिपरि स्वार्थको चास्नीमा डुबुल्की मार्ने दर्जन नेताहरू बाहेक साथमा हुँदैनन् भन्ने मनन् गर्नुहोस् कमरेड । जीवनको उत्तरार्ध कालमा हुनुहुन्छ कम्तिमा पार्टीलाई बलियो र सुदृढीकरणतिर लगेर पार्टी र देशको इतिहासमा सुनौलो अक्षरमा नाम लेख्नुहुन्छ भन्ने आशा गरेका कार्यकर्तामाथि यो उपेक्षा गर्नु हुन्छ भने भोलि तपाईँको नाम त्यही प्रधानमन्त्रीको सूची र एमालेको अध्यक्षको सूचीमा मात्र हुनेछ । एमालेका बफादार कार्यकर्ताले पार्टीमाथिको विश्‍वास त्याग्नेछन् भने लोभीपापीको झुण्डले एमाले पनि हालको माओवादी पथमा जाने निश्‍चित छ ।
अन्ततः जनताको मत यसपाली एमाले प्रतिपक्षमा बस्नु भन्ने सन्देश हो । स्वार्थी समूहको पछि लागेर सत्ताको चास्नीमा डुबुल्की मार्ने इच्छा छ भने डुबुल्की मार्दा त हुन्छ तर डुबुल्की मार्दा तैरिन सकिएन भने जीवन समाप्‍त पनि हुन्छ भन्ने कुरा चाहिँ नभुल्नुहोला । बरू नेपाली काँग्रेसलाई सरकार बनाउन समर्थन गर्ने र सरकारबाहिर बसेर नै चट्टानी रूपमा संसदमा सरकारका अनुचित कदमको खबरदारी गरेर देशलाई स्थिरतातर्फ लैजान मद्दत गर्नुहोस्, ईतिहासमा गर्विलो नाम लेखिनेछ । साना तथा खुद्रे राजनैतिक दललाई सत्ताको मोहमा चढाएर यो अस्थिरताको राजनीतिलाई बन्द गर्नु भयो भने अवश्य पनि अर्को चुनावमा जनताले नेकपा एमालेको पूर्ण बहुमतको सरकार देख्न पाउनेछन् ।
साजन न्यौपाने
शुभचिन्तक

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई