मिसन ग्रासरुट अभियानमा होमियो एमाले


 

सुर्खेत – नेकपा (एमाले) पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मा होमिएको छ। एमालेले यही फागुन ५ गतेदेखि देशभर एकसाथ थालेको अभियान अन्तर्गत सुर्खेतमा पनि विभिन्न पार्टी गतिविधि सुरु भएका छन् ।

एमालेले सोमवार वीरेन्द्रनगरमा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ। पार्टीको अभियान लिएर गाउँ, टोल र बस्तीमा जानुअघि अगुवा नेताहरुलाई प्रशिक्षित गर्न अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव तथा अभियानका लागि कर्णाली प्रदेश संयोजक योगेश भट्टराईले पार्टीको आन्तरिक क्षमता बुझ्न र संगठन थप मजबुद बनाउन ‘मिसन ग्रासरुट’ अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अभियान पार्टीको होल बडी चेकअफ हो, अभियानले पार्टीलाई अझै व्यवस्थित बनाएर लैजाने छ ।’

नेता भट्टराईले विशाल संगठन र अब्बल मान्छेहरु आवद्ध रहेकाले एमाले सबैको लोकप्रिय पार्टी बनेको दाबी गर्नुभयो । उहाँले एमालेका नीति, विचार, सिदान्त र कार्यक्रम अरु कुनै पार्टीसँग दाज्न नमिल्ने भन्दै यिनै विषयहरु जनताका बीचमा लिएर आफूहरुले समाज रुपान्तरणको अभियान चलाइरहेको जिकिर गर्नुभयो ।

सोही अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियानले नेता कार्यकर्तामा हौसला र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । नेता कँडेलले पार्टीको आन्तरिक जीवनमा आइपर्ने समस्या हल गर्न सबै अगुवा नेताहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पार्टी कमिटीहरु प्रणालीमा चल्नुपर्ने आवश्यकता औल्याएका उहाँले नेताहरुले अन्तरविरोध हटाउनतर्फ प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरुले अन्तरविरोध हटाउन पहल गर्ने हो, त्यसभित्र खेल्ने होइन।’

पार्टीका सबै नेता कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तविरोधहरु देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मीले एमाले निर्वाचनका बेला मात्र सक्रिय नभइ निरन्तर पार्टी निर्माणमा रहेको सन्देश दिन ‘मिसन ग्रासरुट’ अभियानमा जुटेको बताउनुभयो । रेग्मीले यो अभियानले पार्टी अझै व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने जनाउनुभयो ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका जुनसुकै अभियानको आधार भनेकै कार्यकर्ता रहेको बताउनुभयो । कार्यकर्ताको सक्रियताका कारण नै बलियो पार्टी बनेको भन्दै उहाँले पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । उहँले भन्नुभयो, ‘यसै अभियानबाट पार्टीलाई एउटै ताल र लयका साथ अगाडि बढाउनुपर्छ।’

जिल्लामा क्रियाशील नेता तथा जनसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा एमालेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए । एमालेले अभियान अन्तर्गत पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटी सदस्यहरुलाई अभियानको केन्द्रीय प्रतिनिधिका रुपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर खटाएको छ । त्यस्तै, उपाध्यक्षदेखि स्थायी कमिटीका नेताहरुले अभियानको अनुगमन र संयोजन गर्ने बताइएको छ।

सुर्खेतमा अभियानको शुभारम्भ अभिमुखीकरणबाट गरिएको छ । आज मंगलवारदेखि नेताहरु ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लाका गाउँ बस्तीहरुमा खटिनेछन् । सुर्खेतको भेरीगंगा, गुर्भाकोट र सिम्तामा केन्द्रीय सदस्य धर्मराज रेग्मी, चिङ्गाड र लेकवेशीमा पोलिट्ब्यरो सदस्य गुलाबजंग शाह, वीरेन्द्रनगरमा पोलिट्ब्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ खटिनेछन् । यस्तै, बराहतालमा देवीलाल थापा तथा पञ्चपुरी र चौकुनेमा विनोद शाह अभियानको केन्द्रीय प्रतिनिधिका रुपमा खटिने भएका छन् । पार्टीलाई वैचारिक र संगठनात्मकरुपमा सुदृढ गरेर मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्ति बनाउन विशेष अभियान अघि बढाइएको एमालेले जनाएको छ । अभियान नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन आउँदो वैशाख ९ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई