विदेश भ्रमणमा सरकारले बचायो सवा दुई अर्ब
प्रधानमन्त्री केपी शर्मा ओलीले उठाउनु भएको कदमले कर्मचारीको विदेश भ्रमण खर्चमा उल्लेख्य कटौती गर्न सरकार सफल भएको छ। सरकारले गत बर्षको तुलनामा विदेश भ्रमणका नाममा हुने खर्चमा करिब २ अर्ब २५ करोडको बचत गरेको छ। विगतका आर्थिक बर्षहरुमा विनियोजित रकमले अपुग भई रकमान्तर गरि खर्च गर्नु पर्ने अवस्थाको सृजना हुन्थ्यो भने यस बर्ष रकमान्तर गरेर विदेश भ्रमणमा खर्च गर्नु परेन।
महालेखा परिक्षकको तथ्याङ्कका आधारमा आर्थिक बर्ष २०७३-७४मा विदेश भ्रमण प्रयोजनको लागि रु १ अर्ब ४९ करोड बजेट विनियोजन भएको थियो। तर सो आर्थिक बर्षमा विनियोजित रकम भन्दा रु ७० बढी खर्च गरिएको थियो। उक्त आर्थिक बर्षमा विदेश भ्रमणमा कुल रु २ अर्ब १९ करोड खर्च भयो । त्यसै गरि आर्थिक बर्ष २०७४-७५ मा रु १ अर्ब ७२ करोड विदेश भ्रमणको प्रयोजनको लागि बजेट छुट्टाईएको थियो भने वास्तविक खर्च रु ३ अर्ब ६० करोड खर्च भएको थियो। जुन विनियोजित बजेट भन्दा ११० प्रतिशतले बढी थियो।

विदेश भ्रमणका नाममा फजुल खर्च बढ्न थालेपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अर्थ मन्त्रालयले “सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५” जारी गर्यो। यसका अतिरिक्त सार्वजानिक खर्चलाई कसरी प्रभावकारि र मितव्ययि बनाउने भनि “सार्वजानिक खर्च पुनरावलोकन आयोग” गठन गरेको थियो। पुनरावलोकन आयोगले दिएको सुझाव सहितको प्रतिवेदनलाई कार्यान्वयन गर्दै सरकारले व्यापक खर्च कटौती गर्न सफल भएको हो।
गत आर्थिक बर्ष २०७५-७६ मा विदेश भ्रमणको लागि रु १ अर्ब ३७ करोड बजेट छुट्टयाइएको थियो। जुन अघिल्लो बर्षको बजेटको तुलनामा २० प्रतिशत कम बजेट थियो भने अघिल्लो बर्षको वास्तविक खर्चको तुलनामा ६२ प्रतिशत कम बजेट थियो । अन्य बर्षमा सरकारले बजेट अपुग भई रकमान्तर गरि खर्च गर्ने गरेता पनि आर्थिक बर्ष २०७५-७६ मा छुट्टयाइएको रकम समेत खर्च भएन। आर्थिक बर्ष २०७५-७६ मा विदेश भ्रमणलाई रु १ अर्ब ३७ करोड छुट्टयाइएकोमा बजेट भन्दा २ करोड कम अर्थात रु १ अर्ब ३५ करोड मात्र खर्च भएको छ। गतअघिल्लो बर्षमा भएको वास्तविक रकमको तुलनामा यो रकम करिब २ अर्ब २५ करोडले कम हो।
विदेश जान कडाई गरिएको; जानै परे त्यसको कारण खुलाउनु पर्ने र भ्रमणको उपलब्धि समेतलाई प्रष्टसँग राख्नु पर्ने भएकाले विदेश भ्रमण खर्चमा ठुलो रकम कटौती गर्न सरकार सफल भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।