नेकपा सचिवालय बैठक, बादलको प्रस्ताबले सचिवालयमा तरंग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिनानिष्कर्ष सकिएको हो ।
गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टी विभागको जिम्मेवारी सचिवालयभन्दा तल्लो तहका नेताहरूलाई दिनु पर्ने प्रस्ताव गर्नुभएपछी सचिवालयको बैठक नयाँ तरङ आएको हो ।
बादलको प्रस्तावमा सचिवालय सदस्य माधवकुमार नेपालले असहमति जनाएपछि बैठक सकिएको हो ।
माधवकुमार नेपालले भने अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले आजको बैठक सकिएको जानकारी दिनुभयो ।
पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।
स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ ।
प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताउनुभयो । “कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकमा पार्टीका सबै केन्द्रीय निकायको एकीकरण र जिम्मेवारीकाबारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकमा राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहाकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसङ्गठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे समेत छलफल भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता बारेमा सोध्ने, सल्लाह गर्ने तथा व्यवस्थित र परिमार्जित प्रस्ताव अर्को बैठकमा ल्याउनेसमेत निर्णय भयो ।”