घुस लिएको अभियोगमा अधिकृत पक्राउ
सेवाग्राहीसंग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुसको रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग, हेटौँडाले जनाएको छ ।
आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी देवराज राईले जानकारी दिनुभयो ।