बाहिरबाट आएकाहरुले पनि चलखेल गरी नागरिकता लिनसक्ने भएकाले सचेत हुन मन्त्री बाँस्कोटाको आग्रह

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित भएपछि नागरिकताको समस्या सदाका लागि अन्त्य हुने बताउनुभएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरमा आजदेखि शुरु भएको माँ बौकीदेवी मेला महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “नागरिकताको समस्या समाधान गर्ने गरी तयार गरिएको विधेयक संसद्मा टेबुल भइसकेको छ, त्यो पारित भएसँगै नागरिकताको समस्या सधैँका लागि समाधान हुन्छ, तपार्इंहरु ढुक्क हुनुस् ।” ‘हाम्रो सीतापुर सांस्कृतिक तथा धार्मिकसहितको समृद्ध सीतापुर’’ मुख्य नाराका साथ आजदेखि शुरु भएको महोत्सव आगामी वैशाख ५ गतेसम्म चल्नेछ । विगतमा नागरिकताको सवालमा राजनीति हुँदै आए पनि अब नागरिकताको विषय राजनीति बन्न नदिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बाँस्कोटाको कथन थियो । नागरिकताका विषयमा नेपालभन्दा नरम दक्षिण एशियाको कुनै पनि देश नरहेको जिकरि गर्दै उहाँले भन्नुभयो, “छिमेकी देश भारतमा विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाइन्छ, पाकिस्तानमा २ वर्षमा, बङ्गलादेशमा एक वर्षमा र माल्दिभ्समा नागरिकता पाउन १५ वर्ष लाग्छ, त्यसमा पनि मुस्लिम धर्म स्वीकार्नैपर्छ तर नेपालमा विवाह गरेको भोलिपल्टै अङ्गीकृत नागरिकता पाइन्छ ।” औद्योगिकग्राम स्थापना गरिने अब नेपालमा जन्मेका अङ्गीकृत आमा वा बाबुका सन्तानलाई वंशजका आधारमा नागरिकताको व्यवस्था गर्न लागिएकाले बाहिरबाट आएकाहरुले पनि चलखेल गरी नागरिकता लिन सक्ने भएकाले सचेत हुन मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारले ठोस योजना बनाएर अघि बढे केन्द्रीय सरकार सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । मधेशमा व्यापक औद्योगिकीकरणको सम्भावना रहेको उल्लेख गर्दै उहाँले सरकारले औद्योगिकग्राम स्थापनाका लागि अध्ययन गरिरहेको बताउनुभयो । हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाइएको उल्लेख गर्दै यही सरकारको पालामा ती कार्य पूरा हुने जिकिर उहाँले गर्नुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक देवनारायण साह, प्रतिनिधिसभाका सदस्य लीलानाथ श्रेष्ठ, सुरेशचन्द्रदास यादव, प्रदेशसभा सदस्य अशोककुमार यादवलगायतले बोल्नुभयो ।