डा.केसीलाई ट्रोजन हर्स को रुपमा प्रयोग गर्दै कस्ले छिरायो द्वंद्वकालीन मुद्दाको विषय?
स्वास्थ्य शिक्षाको सुधारको लागि अनसन बस्दै आइ रहेका डा.केसीले यस पटक अनसन बस्दा राखेको मागले सबैलाई चकित पारेको छ। उनको मागहरु मध्येको ५औं नम्बरमा “द्वंद्वकालीनका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस। द्वंद्वपीडितहरुको माग सुनवाई गर्दै संक्रमणकालीन न्याय शीध्र टुंगोमा पुर्याइयोस” भन्ने माग रहेको छ। आफु विशुद्ध स्वास्थ्य शिक्षा सुधारको लागि लागेको भन्ने डा.केसीको यो विशुद्ध राजनैतिक मागले नेपालमा स्वास्थ्य शिक्षाको गुणस्तर बृद्धि तथा सर्वसुलभताको लागि कसरी योगदान गर्छ भन्ने डा.केसी र उनका सहयोगीले जवाफ देलान तर यस लेखमा यो माग भित्रका केहि कुरा राख्ने प्रयास गरेका छौै ।
द्वंद्वकालीन मुद्दा भन्नाले माओवादीले गरेको ज्याजती भन्ने आम धारणा बनेको छ तर यो पुर्र्णसत्य होइन। द्वंद्वकालीन मुद्दामा माओवादी मात्र हैन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र द्वंद्वकालीनमा सरकारको नेतृत्व गरेका राजनैतिक पार्टी समेत सामेल हुन भनेर बुझ्न जरुरी छ। तथ्यांक कै हिसाब गर्ने हो भने देउवाले सरकारको नेतृत्व गर्दा सरकार पक्षबाट सबै भन्दा बढी मानिस मारिएको बेपत्ता पारिएको तथ्यांक छ। विश्व इतिहास हेर्दा शान्ती सम्झौताबाट गृहयुद्ध समाप्त भएको सायद पहिलो उदाहरण नेपाल हो। नेपाल सरकार र विद्रोही पक्ष बिच बिस्तृत शान्ती सम्झौता गरि गृहयुद्धको अन्त्य भएको हो। त्यसैले द्वंद्वकालीन मुद्दाको निरोपण अन्य अपराध सरह गर्न मिल्दैन, यसको निरोपण प्रचलित कानुन र बिस्तृत शान्ती सम्झौतालाई समेत मध्यनजर राखेर गर्नु पर्ने वाध्यता रहेको छ। द्वंद्वकालीन मुद्दा विशुद्ध राजनैतिक मुद्दा भएकोले यसलाई अनसनको विषय बनाउन मिल्दैन। यस प्रकारका मुद्दाको निरोपण राजनैतिक पार्टीहरु विचमा सहमति कायम गरि राजनैतिक न्यायिक सम्यन्त्र अन्तरगत गर्नु पर्नेमा दुइमत छैन।
स्वास्थ्य शिक्षाको सुधारको लागि सत्याग्रह गर्ने डा.केसीका मागका बिचमा त्यसै अन्जानबस परेको हैन, द्वंद्वकालीन मुद्दाको निरोपणको विषय। करिब एक महिना अघि देखिको घटनाक्रमलाई हेर्ने हो भने यो मागलाई नियोजित षडयन्त्र सहित अघि बढाइएको भन्ने प्रष्ट हुन्छ।
इयान मार्टिन र ओम अर्याल लगायतको समिट होटलको त्यो भेट
इयान मार्टिनले नेपाल स्थित राष्ट्रसंघको कार्यलय प्रमुखका रुपमा केहि बर्ष काम गरेका थिए भने सन २००६ देखि सन २००९ सम्म राष्ट्रसंघ जनरल सेक्रेटरीको प्रतिनिधीको रुपमा अनमिनमा कार्य गरेका थिए । भारतले साथ दिए पछि नेपालले द्वंद्वकालीन मुद्दाबाट अनमिनलाई अलग गरिएको थियो भने द्वंद्वकालीन मुद्दाको निरोपण नेपाल भित्रै नेपाली कानुन अन्तर्गत रहेर दुबै पक्षको आपसि सहमतिमा गर्नु पर्ने भन्ने राजनैतिक सहमति कायम भएको थियो। राष्ट्रसंघमा राम्रो प्रभाव भएका मार्टिन भने द्वंद्वकालीन मुद्दालाई ब्युझाएर अनमिनलाई फिर्ता ल्याउने उदेश्यले केहि समय देखि लागि परेका छन। यसै कार्यको लागि उनि केहि समय पहिले (डिसेम्बर दोस्रो हप्ता) करिब १० दिनको नेपाल भ्रमणमा आएका थिए भने उनको उक्त बसाईमा केहि नागरिक समाजका कथित अगुवा “ओपेनियन मेकर” लाई “दर्शन भेट” दिएका थिए। “दर्शन भेट” पाउने भाग्यमानी नागरिक समाजका कथित अगुवा “ओपेनियन मेकर” हरुमा दमननाथ ढुंगाना, देवेन्द्र पाण्डे, ओम अर्याल, हरि फुँयल लगायत रहेका थिए।
अनौठो संयोग
द्वंद्वकालीन मुद्दाको बिषयमा काम गरि रहेका र द्वंद्वकालीन मुद्दाको समाधान नेपाल भित्रै खोजिनु पर्छ भन्ने मान्यता राख्ने व्याक्ती मध्येका एक हुन टिका ढकाल। उनले इयान मार्टिन नेपाल भ्रमणमा रहेको बेला केहि ट्विट गरेका थिए, उनले लेखेको थिए “ अबको (डा.केसीको) अनसनमा संक्रमणकालिन न्यायका लागि युएनको व्यापक भूमिका हुनुपर्छ भन्ने माग राख्ने भन्ने बारेमा छलफल चलिरहेको रहेछ। सत्य भए दुर्भाग्यपूर्ण“। उनले गरेको आशंकालाई डा.केसीले २० दिन पछि सत्य साबित गरि दिए।
डा.केसीले इलाममा अनसन बसेको घोषणा गर्ने वित्तिकै केहि नागरिक समाजका कथित अगुवा “ओपेनियन मेकर” हरुले द्वंद्वकालीन मुद्दामा राष्ट्रसंघको हस्तक्षेप चाहियो भन्दै गंगामायालाई लिएर नेपाल स्थित राष्ट्रसंघको कार्यलय पुग्नु पनि संयोग मात्र नहोला र यी घटनाक्रमले द्वंद्वकालीन मुद्दा डा.केसीको आफ्नो माग नभएर उनिलाई बोकाइएको भारी हो भन्ने कुराको थप पुष्टी गर्दछ।
नेपाललाई अस्थिर बनाई विदेशी एजेन्सीहरुको क्रिडास्थल बनाउने योजनामा लागेका कथित नागरिक अगुवा “ओपेनियन मेकर” आफुहरुको बिदेशीसंगको उठबसको कारण बदनाम भइ सकेकोले आफुहरुले माग राख्दा सरकारको रैं पनि हल्लाउन नसक्ने अवस्था भएकोले डा..केसीको सामाजिक साखलाई हतियारको रुपमा प्रयोग गरेका हुन। नेपाल देश माथि गरिदै आएको यस षडयन्त्रमा डा.केसी भने आफु ट्रोजन हर्स बनेका छन। डा.केसीको अत्याधिक रिसको कारणले होला नेपाललाई विदेशीको क्रिडास्थल बनाउने षडयन्त्रको भारी बोकेर हिडेका छन, आफु परिचालित भए भन्ने हेक्का समेत छैन।