सरकारले प्रभावकारीरुपमा सङ्घीयता कार्यान्वयन गर्न सकेन : प्रवक्ता विश्वप्रकाश शर्मा

–भीष्मराज ओझा काठमाडौँ, २ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले अनुकूल वातावरण भएर पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु अघिल्ला सरकारका झैँ गम्भीर राजनीतिक चुनौती नभए पनि तीव्र ढङ्गले कार्य गर्न नसकेको भनी टिप्पणी गर्नुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसामु झैँ ज्वालामुखीको वातावरणमा शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने, सुशील कोइरालाले झैँ प्रतिकूलता चिरेर संविधान जारी गर्नुपर्ने या अनेक जटिलता हल गरेर शेरबहादुर देउवाले झैँ तीन तहको निर्वाचन गर्नुपर्ने स्थिति वर्तमान सरकारका सामु नभएको बताउनुभयो । दुई तिहाइ बहुमतको सरकार, सबै प्रदेश सरकारको साथ र बहुमत स्थानीय तहको समर्थन प्राप्त भए पनि वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्य सम्पादन गर्न नसकेको काङ्ग्रेसको आरोप छ । कार्यक्रममा प्रवक्ता शर्माले सरकारले प्रभावकारीरुपमा सङ्घीयता कार्यान्वयन गर्न नसकेको र उल्टै प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अङ्गलाई केन्द्रिकृत गरेर शक्ति केन्द्रीकरणको अभ्यास गरेको बताउनुभयो । काङ्ग्रेसले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको तथा शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको जनाएको छ । प्रवक्ता शर्माले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गर्दै प्रश्न गर्नुुुभयो, “आफ्नै लगानीमा निर्माण गर्ने भनेर सङ्कल्प गरिएको बूढीगण्डकी परियोजना बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु, वाइड बडी विमान छानबिनमा अख्तियार प्राप्त संवैधानिक संस्थालाई सहयोग नगरेर छुट्टै आयोग बनाउनुको रहस्यमा घोटाला ढाकछोपको नियत नभई के थियो ,आवश्यकताभन्दा दोब्बर जग्गाको रुख काट्ने प्रस्तावसँगै निजगढ विमानस्थल निर्माण प्रक्रियामा गतिरोध आउनु, ९० प्रतिशत काम सकिएको मेलम्ची परियोजना कमिसनको खेलका कारण निर्माण कम्पनीले काम छोडेर जानु, बालुवाटारको सरकारी जग्गा प्रकरणलगायत यावत घटना भ्रष्टाचारकै नियतको परिणाम भएको काङ्ग्रेसको टिप्पणी छ । कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले सरकारले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिमा निर्णय गराएर प्रमुख प्रतिपक्षी दललाई ‘बाइपास’ गर्न खोजेको आरोप लगाउनुभयो । उपसभापति निधिले संवैधानिक निकायमा काङ्ग्रेसले भागबण्डा मागेको भनी पार्टीलाई बदनाम गर्न खोजेकामा आपत्ति जनाउनुभयो । उहाँले यही वैशाख ११ गतेदेखि पार्टी सङ्गठन सुदृढीकरणका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको सो अवसरमा जानकारी गराउनुभयो ।
रासस