सरकारले अब परिणाममुखी काम गर्छ : नेता शर्मा

काठमाडौँ, ३ वैशाख (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता दिनानाथ शर्माले नयाँ वर्षसँगै सरकाले अब परिणाममुखी काम गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले विगतको वर्ष नीति निर्माणको वर्ष रहेको र अबको वर्ष जनताको आवश्यकता अनुरुपको विकासको काम गरी परिणाम देखाउने वर्ष रहेको बताउनुभएको हो । अहिलेसम्म सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएको बताउँदै उहाँले संविधान साझा दस्तावेज हो भन्नुभयो । त्यसमा नै टेकेर अघि मुलुकको हितको लागि काम गर्नुपर्छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शङ्कर भण्डारीले उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनता ढुक्क हुन नसकेको भन्दै देशको पहिचान भनेको सनातन हिन्दूराष्ट्र भएको बताउनुभयो । वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि असफल भएको उहाँले आरोप लगाउनुभयो । राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका अध्यक्ष राजकिशोर यादवले लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाए पनि जनताको भावना अनुरुप काम गर्न नसकेको बताउनुुभयो ।