प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहुलियत दरमा विश्व बैंकको १४ अर्ब ऋण
काठमाडौं: ओली सरकारले गत आर्थिक वर्षदेखि शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) ले रू। १३ अर्ब ६५ करोड (१२० मिलियन डलर) सहुलियत दरमा ऋण स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले ‘युथ इम्प्लोयमेन्ट ट्रान्सफर्मेशन इनिसिएटिभ प्रोजेक्ट’ का नामबाट उक्त ऋण स्वीकृत गरेको हो । उक्त ऋण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत परिचालन गरि प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च हुने कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो।

सरकारले बेरोजगारलाई वर्षमा कम्तीमा १०० दिन काम दिने, काम दिन नसके वार्षिक २५ हजार ८५० रुपैयाँ बेरोजगारी भत्ता दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । गतवर्ष यस कार्यक्रमका लागि रू. २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रूपमा उपलब्ध गराइएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा उत्साहजनक सहभागिता थियो।

उक्त ऋणलाई स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको आईटी सिस्टम सुधार्न, रोजगार नीति तयार गर्न र कार्यक्रमको अनुगमन गर्न समेत परिचालन गरिने छ। रकमबाट आवस्यकता अनुसार स्वरोजगारमूलक तालीम समेत सञ्चालन गरिने संयोजक दाहालले जानकारी दिनुभयो। दाहालले आवश्यकता अनुसार कार्यक्रमको मोडालिटी समेत बदली शीपमूलक तालीम मार्फत सहुलियत ऋणबाट रोजगार बढाउने समेत लक्ष्य रहेको जानकारी दिनुभयो।
