रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य : प्रम


सुर्खेत, ४ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजनामार्फत उत्पादकत्व बढाउने गर्ने बताउनुभयो ।

उहाँले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो । राष्ट्रिय गौरवको यस आयोजनालाई प्रदेश, स्थानीय र सङ्घीय सरकारको ‘मित्रताको कार्यक्रम’ को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले प्रदेश नं ५ र कर्णाली प्रदेशका लागि यो आयोजना सद्भाव र समझदारीको नमूना हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर प्रदेश र स्थानीय तहबीच पारस्परिक सहयोग जरुरी छ ।”

उहाँले नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशीलताका कारण तोकिएको समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ (टिबिएम) बटन थिचेर ‘ब्रेक थ्रु’ गर्नुभयो ।

प्रधानमन्त्री ओलीले २०७१ सालको बाढीबाट विस्थापित सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यका लागि प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उहाँले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उहाँको भनाइ थियो । “दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पुर्याउँछौँ, चीन सरकारसँग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “अब नेपालमा गरीबी रहन दिँदैनौँ, पछ्यौटेपन रहन दिँदैनौँ, कोही पनि जनता भोकले मर्दैनन् ।”

गत वर्ष आफूले रारामा हात समाएर भर्ना गरेकी बालिका कक्षामा पहिलो भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोही पनि बालबालिका विद्यालय बाहिर रहन नहुने बताउनुभयो । “विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न पार्टी कार्यकर्ता, कर्मचारी, सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको युगमा निरक्षर बस्न हुँदैन ।”

कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी बबई डाइभर्शन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने बताउनुभयो । विद्युत् आयोजना उपहारस्वरुप कर्णालीलाई दिन उहाँको आग्रह थियो । “आयोजनाबाट बाँके र बर्दियाका जनताको भकारी भरिने तर कर्णालीका जनताले भोकमरी भोग्नुपर्ने अवस्था आउनु हुँदैन”, उहाँले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउन कार्यक्रम आवश्यक छ ।” मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रका बासिन्दासँग लालपुर्जा नभएकाले तत्काल उक्त समस्या समाधान गर्नुपर्ने केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले टनेल बोरिङ मेशिनले नव नेपाल निर्माणका लागि नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले यसलाई दुई प्रदेशबीच मितेरी आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबईमा सुरुङ निर्माणको क्षेत्रमा ऐतिहासिक क्रान्ति भएको बताउनुभयो । भेरी बबईलाई प्रदेश नं ५ र कर्णालीबीचको एकता र सद्भावको आयोजना भन्दै उहाँले टनेल एक वर्ष अगावै निर्माण सम्पन्न हुँदा सरकारलाई हौसला मिलेको बताउनुभयो । मन्त्री पुनले यस्तो प्रविधि नेपालका अन्य आयोजनामा समेत प्रयोग गर्ने बताउनुभयो ।

उहाँले यस आयोजनाबाट उत्पादित ४८ मेगावाट विद्युत्लाई ‘जनताको जलविद्युत् आयोजना’ अन्तर्गत समावेश गरिएको जानकारी दिनुभयो । “कम्पनी निर्माण गरेर प्रदेश सरकार, स्थानीय सरकार र दुवै प्रदेशका जनताको ४९ प्रतिशत शेयरमा जलविद्युत् आयोजना अघि बढाइनेछ”, उहाँले भन्नुभयो, “आयोजनालाई प्रभावित् हुन नदिन छिटो विद्युत् उत्पादन गरी टनेल सदुपयोग गर्न ८÷१० क्युसेक पानी बबईमा मिसाउनेबारे छलफल गर्दैछौँ ।”

चिनियाँ निर्माण कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि र परामर्शदाता कम्पनी जियोडाटा इञ्जिनीयरिङ एसपिए इटाली र सिडेक नेपालका प्रतिनिधिलाई प्रधानमन्त्री प्रशंसापत्र प्रदान गर्नुभयो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको थियो । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेमा आइपुगेको मेशिन प्रधानमन्त्रीले ब्रेक थ्रु गर्नुभएको हो ।

सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ साल चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेशिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र प्रदेश नं ५ का बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ ।

आयोजनाका निर्देशक सञ्जीव बरालले खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । यस आयोजनाबाट उत्पादन हुने ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करीब रु चार अर्ब तीन करोड र बाह्रै महीना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

साढे १० अर्बमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै रु आठ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सक्ने लक्ष्य छ । 

रासस

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई