त्रिशुली जलविद्युत कम्पनी (त्रिशुली ३ बी परियोजना) को विष्लेषण
“नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” भन्ने नारा सहित सुरु गरिएको जलविद्युत लगानी कार्यक्रमको पहिलो परियोजना स्वरुप त्रिशुली ३ बी जलविद्युत आयोजना (३७ मेगावाट) को शेयर सर्वसाधरणको लागि निश्कासन गरिएको छ। कम्पनीले आफ्नो विवरण पत्रमा उल्लेख गरेको विवरणको अनुसार यो परियोजनाको जडित क्षमता ३७ मेगावाट हो भने यसको निर्माण कार्य प्रारम्भिक चरणमा रहेको छ। कम्पनीले २०७७ साल फाल्गुन २९ गते सम्ममा यस परियोजनाको निर्माण कार्य सम्पन्न गरि व्यवसायिक उत्पादन शुरु गर्ने उद्धेश्य राखेको छ। यस परियोजनको लागत रु २२.२३ करोड प्रति मेगावाटका हिसाबले जम्मा लागत रु ८२२ करोड हुने जानकारी दिएको छ।
कुनै पनि कम्पनीको शेयरमा लगानी आफैमा जोखिमयुक्त लगानी हो किनकी शेयरधनीलाई शेयरमा लगानी गरे वापत कुनै निश्चित प्रतिफल कबुल गरिएको हुँदैन । कम्पनीले नाफा कमाएमा मात्र शेयरधनीलाई प्रतिफल दिन सक्छ भने कम्पनी नोक्सानमा गएमा कम्पनीका शेयरधनीले लगानीको प्रतिफल वापत कुनै किसिमको रकम प्राप्त गर्दैनन् । त्यसैले कुनै पनि कम्पानीको शेयरमा लगानी गर्नू पुर्व कम्पनीको वित्तिय अवस्था, सम्भावित बजार, उत्पादन क्षमता, बजारमा प्रतिपर्धिको अवस्था आदीको विश्लेषण गर्न जरुरी हुन्छ। “शेयर हो बढी हाल्छ” भन्ने मानसिकता त्यागेर कम्पनीका आधारभुत कुराको अध्यायन गर्न जरुरी हुन्छ।
नेपालमा जलविद्युत कम्पनीले उत्पादन गरेको विद्युत खरिद गर्ने एक मात्र संस्था नेपाल विद्युत प्रधिकरण हो भने साधारणतया विद्युत खरिद “टेक अर पे” (लिउ कि देउ) को अवधारणमा सम्झौता गरिएको हुन्छ। जस्ले गर्दा जलविद्युत कम्पनीको वित्तिय विष्लेषणमा गर्दा सम्भावित बजार, बजारमा प्रतिपर्धिको अवस्थाको विश्लेषण गरि रहन जरुरी देखिदैन।
यस परियोजनामा लगानी गर्ने कि नगर्ने ?
यस परियोजनामा लगानी गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्नु अघि यस परियोजनाका सबल पक्ष र कमजोर पक्षको विश्लेषण गर्न जरुरी हुन्छ।
सबल पक्ष
१. आंशिक भुक्तानी गर्नु पर्ने शेयर
रु १०० को शेयर मध्ये बाट पहिलो किस्ता स्वरुप रु १० मात्र बुझाउनु पर्ने व्यवस्था गरिएको छ भने बाँकी रकम परियोजनाको भौतिक प्रगति ५० प्रतिशत भए पछि माग गर्ने सक्ने व्यवस्था गरेको छ। कम्पनीको भौतिक प्रगति संतोषजनक नभए वा परियोजनाको लागतमा बृद्धि भएमा शेयरधनीले बाँकी रकम नबुझाउन छुट छ तर यस्तो अवस्थामा पहिलो किस्ता स्वरुप बुझाएको रकम के हुन्छ? भन्नेमा कार्याबधी मौन छ। तर कम्पनी ऐनको प्रावधान हेर्दा उक्त रकम कम्पनीले जफत गर्न सक्ने कानुनी व्यवस्था भएकोले उक्त रकम जफत हुन सक्ने सम्भावना रहेको छ।
२. आर्कषक परियोजना:
कम्पनीले जारी गरेको विवरण पत्रका अनुसार यस परियोजनको विद्युत खरिद सम्झौता अनुसार ६ महिनाको उत्पादनलाई सुख्खा मौसमको उत्पादन र बाँकी ६ महिनाको विद्युत उत्पादनलाई बर्खायामको उत्पादन भनि परिभाषित गरि खरिद विक्री सम्झौता भएको छ। हाल संचालनमा आएका अधिकांस परियोजनामा सामान्यता ८ महिना बर्खायाम र ४ महिना सुख्या याम हुने गरेको छ। हाल प्रचलित विद्युत खरिद दर सुख्खा याममा रु ८.४० र बर्खायाममा रु ४.८० प्रति युनिट रहेको छ। जसको कारण परियोजनाको विद्युत विक्रीबाट हुने आम्दानी अन्य परियोजनाको भन्दा धेरै छ। संख्यामा भन्दा यस परियोजनाको प्रति मेगावाट आम्दानी लगभग रु ५ करोड रहेको छ भने जुन सामान्यतया अन्य परियोजनाको आम्दानी भन्दा करिब रु २ करोड प्रति मेगावाटले बढी हो ।
३. ब्याज झुक्तानी:
साधारणतया कम्पनीले शेयर लगानी वापतको रकममा ब्याज झुक्तान गर्न पाउदैन। तर यो निश्कासन जनताको जलविद्युत कार्यक्रम अन्तरगतको निस्कासन भएकोले शेयरको कारोबार नभए सम्मका लागि लगानीको रकममा ८ प्रतिशत बार्षिक व्याजको व्यवस्था गरिएको छ। व्याजबाट प्राप्त हुने रकमलाई दोस्रो तथा अन्तिम किस्ताको रकममा मिलान गरिने व्यवस्था गरिएकाले ब्याज प्राप्त होला कि नहोला भन्ने जोखिमको अवस्था रहेको छैन।
जोखिम
१. निर्माण जोखिम:
जलविद्युत कम्पनी परियोजनाको मुख्य जोखिम तोकिएको समयावधीमा परियोजना समाप्त नहुने जोखिम हो । स्थानिय जनताको आन्दोलन, निर्माण समाग्रीको अभाव, ठेकेदारको सुस्तता आदीले गर्दा निर्माण कार्य तोकिएको समायावधी सम्पन्न नहुने अवस्था श्रृजना हुने जसका कारण एकतिर लागतमा बृद्धि हुन्छ भने अर्का तिर सम्भावित आम्दानीको नोक्सान हुने अवस्था रहन्छ। यस परियोजनाको निर्माण कार्य प्रारभ्मिक चरणमा रहेकाले यस परियोजनामा निर्माण जोखिम अत्याधिक रहेको छ।
साथै विद्युत प्राधिकरणको सहायक कम्पनीले प्रर्बद्धन गरेको परियोजना भएको र विद्युत प्राधिकरणका विगतको परियोजनाको निर्माण तोकिएको समयासिमामा समाप्त नभएको अवस्थामा यो परियोजना तोकिएको समायसिमामा नसकिने तथा निर्माण लागत बढ्ने जोखिम समेत रहेको छ।
२. उत्पादन लागत
अहिलेको “मार्केटको ट्रेण्ड” हेर्दा स्वतन्त्र उर्जा उत्पादकका परियोजनाको निर्माण लागत लगभग रु २० करोड प्रति मेगावाटमा रहेको अवस्थामा यस परियोजनको निर्माण लागत लगभग रु २२.२३ करोड प्रति मेगावाट रहेको छ । जुन प्रचलित बजार भन्दा लगभग रु २ करोड प्रति मेगावाट ज्यादा हो । उच्च उत्पादन लागतले गर्दा यस परियोजनाको प्रतिफलमा प्रत्यक्ष असर पर्ने सम्भावना रहन्छ।