प्र.म. ओलीले चुनावी वादा गरेको स्वरोजगार कर्जा लिन चाहानु हुन्छ? यस्तो छ कार्यविधी (भाग १)
प्रधानमन्त्री ओलीको शैक्षिक प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट सहुलियत दरमा ऋण दिई युवा वर्गमा उद्यमशिलता विकास गर्ने आफ्नो चुनावी वादा पुरा गर्न नेपाल सरकारले सहुलियत कर्जाका लागी ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५ मन्त्री परिषदबाट पारित गरेको छ। यस कार्यविधी अनुसार सहुलियत दरमा ऋण प्राप्त गर्न चाहिने योग्यता, कार्यविधी अनुसार योग्य कर्जा, कर्जाको सिमा आदी विषयलाइ सरल भाषामा प्रस्तुत गर्ने यस लेखमा प्रयास गरिएकोछ ।
१. कर्जाका प्रकार
कार्यविधी अनुसार कर्जालाई निम्न ७ प्रकारमा बर्गिकरण गरिएको छ।
- व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा – कृषि तथा पशुपन्छीमा आधारित उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण सम्बन्धी परियोजनाहरु यस बर्गमा राखिएको छ। त्यसै पशुवधशाला सन्चालन, मासुजन्य पदार्थ, जडिवुटी उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण समेत यस कर्जा अन्तरगतका योग्य परियोजना हुन। साथै प्राङगरिक तथा जैविक मल तथा पशुपन्छी जन्य दाना उद्योग संचालन समेत यस कर्जाको बर्गमा राखिएको छ।
- शिक्षित युवा स्वरोजागर कर्जा
- वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा
- महिला उद्यमशिलता कर्जा
माथिल्ला ३ बर्गका कर्जामा कृषिमा आधारित उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण गर्ने परियोजना, कृषि उत्पादन बृद्धि गर्न सधाउ पुर्याउने सिंचाइ कुलो, नहर, नल, हाते नल निर्माण परियोजना तथा सिंचाइ उपकरण खरिद कर्जा, कृषि औजार खरिद कर्जा, वन विकास तथा चरन विकास परियोजना, जग्गा विकास र भुसंरक्षण परियोजनालाइ योग्य कर्जाको रुपमा लिइएको छ।
साथै घरेलु उद्योग व्यवसाय समेत यी कर्जाका लागी योग्य व्यवसाय भनी तोकिएको छ।
त्यसै गरि सेवा व्यवसाय अन्तर्गत स्वास्थ्य सम्बन्धी सेवा व्यवसाय संचालन, पशुपक्षी सम्बन्धी चिकित्सा व्यवसाय संचालन, कृषि एवं औद्योगिक उत्पादन बृद्धिमा सघाउ पुर्याउनृ सेवा व्यवसाय संचालन, सीप एवं स्वरोजगार मुलक व्यवसाय संचालन, पर्यटन सम्बन्धी व्यवसाय, संचार सम्बन्धी व्यवसाय, यातायात सेवा सम्बन्धी व्यवसाय समाबेश गरिएको छ। यसका अतिरिक्त प्रचलित कानुनले बन्देज नलगाएका मुल्य अभिबृद्धि गर्ने उद्योग समेत यी कर्जा अन्तरगत ऋणको लागी योग्य रहेका छन।
- दलित समुदाय व्यवसाय विकास कर्जा – यस कर्जा अन्तरगत दलित समुदायको सामुहिक जमानीमा दलित समुदायले गरि आएका परम्परागत तथा पुख्यौली पेशा, व्यवसायहरुलाइ समेटिएको छ।
- उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई माध्यमिक शिक्षा वा उच्च माध्यमिक, स्नातक तह वा सो भन्दा माथीका प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि कर्जा ।
- भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा
२. योग्यता, शर्त तथा आवश्यक कागजात
- व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा
व्यक्तीको हकमा १८ बर्ष पुरा भएको, संस्थाको हकमा शेयर स्वमित्व सतप्रतिशत नेपाली नागरिकको रहेको।
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
रु १० लाख भन्दा कमको सामुहिक जमानीको हकमा कर्जा जमानी सम्बन्धी कागजात
रु १० लाख भन्दा बढीको कर्जाको हकमा संस्था दर्ता प्रमाण पत्र
रु १ करोड कर्जा बढीको कर्जाको हकमा कम्पनी दर्ता प्रमाण पत्र
उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तर रु १० लाख भन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव
- शिक्षित युवा स्वरोजागर कर्जा
कम्तीमा स्नातक तह उत्तिर्ण गरेको र ४० बर्ष ननाघेको
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
शैक्षिक प्रमाण पत्रको सकल प्रति
घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत सरकारी निकायहरुबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकासको तालिम लिएको प्रमाणपत्रको प्रतिलिपी
- वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा
उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तर रु १० लाख भन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव
विदेशबाट फर्केको ३ बर्ष ननाघेको
निवेदक श्रम स्वीकृती प्राप्त गरि वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धीत तालिम, पेशा, व्यवसाय, क्षेत्रमा काम गरि स्वदेश फर्केको जनाउने कागजात
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
राहदानी तथा प्रवेशाज्ञाको प्रतिलिपी
कुनै पनि देशको स्थायी बसोबास स्वीकृत प्राप्त नभएको स्व घोषण
उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तर रु १० लाख भन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव
- महिला उद्यमशिलता कर्जा
१८ बर्ष उमेर पुरा भएको महिला, समुहको हकमा भने फरक परिवारका कम्तीमा ५ जना १८ बर्ष उमेर पुरा भएका महिला
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
समुहको हकमा सामुहिक जमानी सम्बन्धी कागजात
उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव
- दलित समुदाय व्यवसाय विकास कर्जा
१८ बर्ष उमेर पुरा भएको, समुहको हकमा भने फरक परिवारका कम्तीमा ५ जना १८ बर्ष उमेर पुरा भएका
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
गाउँपालिका तथा नगरपालिकाले दलित जात भनी प्रमाणित गरेको प्रमाणपत्र
समुहको हकमा सामुहिक जमानी सम्बन्धी कागजात
उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तर रु १० लाख भन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव
- उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा
माध्यमिक तथा सो सरह उत्तिर्ण गरि २५ बर्ष उमेर ननाघेको
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
आर्थिक रुपमा विपन्न, सिमान्तकृत वा लक्षित वर्गको विद्यार्थी भएको सिफरिस र अध्यायन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपी
- भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा
राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरि आर्थिक अभावका कारण हाल सम्म आवास निर्माण कार्य शुरु गर्न नसकेको
कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेको स्वघोषणा
नागरिकताको प्रतिलिपी
नेपाल सरकारले निजी आवास अनुदान दिए बाहेक अरु संस्थागत अनुदान नपाएको
ऋणी वा निजको परिवारको नाममा कुनै पन स्थानमा बस्न योग्य घर नभएको
यस कार्यविधी अनुसार सहुलियत व्याज दरमा कर्जा नलिएको
३. कर्जाका सिमा
व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैया सम्म
(यदी कर्जाको रकम ५ करोड रुपैया भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समितिले आवश्यकता तथा औचित्यताको आधारमा सिमा निर्धारण गर्नेछ।)
शिक्षित युवा स्वरोजागर कर्जा ७ लाख रुपैया सम्म
वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैया सम्म
महिला उद्यमशिलता कर्जा १५ लाख रुपैया सम्म
दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैया सम्म
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैया सम्म
भुकम्प पिडितहरुको निजी आवास निमार्ण कर्जा ३ लाख रुपैया सम्म
(कर्जा लिने प्रकृया, कर्जा भुक्तानी, ब्याजदर तथा कारबाही सम्बन्धी जानकारी अर्को लेख मंगलबार प्रकाशित गरिने छ- पोष्टखबर)(लेखक चार्टड एकाउन्टेन्ट तथा कानुनका विद्यार्थी हुन)