प्रधानमन्त्री केपी ओलीकाे घरघरमा ग्यास पु-याउने सपना साकार हुदै

कनकाई, ७ वैशाख (रासस) : प्रधानमन्त्री केपी ओलीबाट उद्घोष भएको घर घरमा पाइप ग्यास पु¥याउने अवधारणाको निरन्तरता स्वरुप स्थानीय तहको अगुवाइमा झापाबाट कार्य प्रारम्भ भएको छ । ‘वातावरण संरक्षणका लागि हाम्रो प्रयास, नवीकरणीय ऊर्जाबाट घरघरमा ग्यास’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको बायोग्यास प्लान्टको एक कार्यक्रमकाबीच आज झापाको कनकाई नगरमा अर्थमन्त्री डा युवराज खतिवडाले शिलान्यास गर्नुभयो । वातावरणको शुद्धताका लागिसमेत ख्याल राख्दै अबको २५ वर्षभित्रमा मुलुकभरी नै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट उत्पादित बायोग्यास प्रत्येक घरघरमा पु¥याउने नीति सरकारले लिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले हरेक स्थानीय तहका जनप्रतिनिधि यसतर्फ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । वैकल्पिक ऊर्जा व्यवस्थापनको उद्देश्यमाथि प्रकाश पार्दै झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपी सावा लिम्बूले फोहरमैलाको कारण दिनप्रति दिन दूषित बन्दै गएको वातावरणलाई स्वच्छ, सफा र स्वस्थ बनाउँदै मुलुकको समृद्धिका लागि अघि बढ्न वैकल्पिक ऊर्जाको विकल्प नरहेको बताउनुभयो । करीब रु १७ करोडको बजेटमा कनकाई नगरको वडा नं २ स्थित सुकेडाँगीमा निर्माण हुन लागेको चार हजार घनमिटरको बायोग्यास प्लान्टबाट प्रारम्भिक चरणमा नौ सय घरपरिवार लाभान्वित हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । बायोग्यास प्लान्ट सञ्चालनका लागि झापाका स्थानीय तह कनकाई, विर्तामोड र अजुर्नधारा नगरपालिकाको प्रत्यक्ष सहभागिता रहेको छ । फोहरमैला व्यवस्थापन गरी फोहरलाई मोहोरमा बदल्ने स्थानीय तहको रुपमा नेपालमै पहिलो बायोग्यास प्लान्ट निर्माण हुन लागेको सञ्चालकले दाबी गरेका छन् । कनकाई, विर्ता, अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेड नामकरण गरिएको यस संस्थामा झापाका अन्य नगरपालिकाले समेत सहभागिता जनाउने भएका छन् । नेपालमा रहेका सबै स्थानीय तहको मुख्य चुनौतीको विषय भनेको नै फोहरमैलाको व्यवस्थापन भएकाले कनकाई नगरको अगुवाइमा झापामा रहेका केही स्थानीय तहसँगको सहकार्यमा फोहरलाई मोहोरमा बदल्ने प्रयास भएको वन वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक एवं कनकाई नगर वडा नं–२ का अध्यक्ष परशुराम गिरीले बताउनुभयो । परियोजनालाई आवश्यक पर्ने सम्पूर्ण क्रियाकलाप जग्गा व्यवस्थापन, सम्भाव्यता अध्यायन, माटो परीक्षण, विस्तृत परियोजना प्रतिवेदन(डिपी आर), वातावरणीय प्रभाव मूल्याङ्कन, डिप बोरीङ निर्माण लगायतको कार्यसम्पन्न गरिसकेको संस्थाका अध्यक्ष मीनाल तिम्सिनाले बताउनुभयो । –––