उत्तर कोरियाली नेता किम जङ–अन रुसको भ्लादिभोस्तकमा


भ्लादिभोस्तक, ११ वैशाख: – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ ।

राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताउनुभएको छ । तर उहाँले दुई देशको संयुक्त वक्तव्य वा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको बताउनुभयो ।

गत फेबु्रअरीका भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो । किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लाग्नुभएको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो । किमलाई रुसी सीमा शहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ ।

देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कुटनीतिक गतिविधिलाई तिब्रता दिनुभएको छ । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गर्नुभएको थियो । नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गर्नुभएको थियो । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए । सोभियत युनियनले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध बढाउन थालेको भन्दै उत्तर कोरियालाई प्रदान गर्ने वार्षिक सहायतामा सन् १९८० को दशकबाटै कटौती गर्न थालेको थियो । तर सन् १९९० को दशकमा सोभियत सङ्घको बिघटनपछि यस्तो सहायता लगभग बन्द भएको थियो । विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी शहरहरुमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

रुसको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएलगत्तै राष्ट्रपति पुटिनले दुबै देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्न तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलसँग तीन पटक भेट गर्नुभएको थियो । उहाँहरुबीचको पहिलो भेट सन् २००० मा उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको थियो । राष्ट्रपति पुटिन उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पनि हुनुभएको थियो । रुसी सहायता रोकिएपछि एक्लो भएको उत्तर कोरियालाई चीनले मद्दत गर्न थालेको थियो । पछिल्ला वर्षहरुमा उत्तर कोरियाको सबैभन्दा ठूलो दाता, व्यापारिक साझेदार र इन्धनको मुख्य आपूर्तिकर्ता चीन नै भएको छ । विश्लेषकहरुले किमले बेइजिङको बढ्दो प्रभावलाई सन्तुलनमा ल्याउने प्रयास थाल्नुभएको छ । सियोलस्थित उत्तर कोरियाली अध्ययन केन्द्रका विश्लेषक जियोङ योङ–ताईका अनुसार उत्तर कोरियाको जुछे सिद्धान्तमा नै एउटा शक्तिसँग मात्र निर्भर हुनु हुँदैन भनेकाले उत्तर कोरियाले अरु देशसँग सम्बन्ध बढाउनु स्वाभाविक हो । नेता किमका बुबा किम जोङ–इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्री मेडभेडेभसँगको भेटवार्तामा रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुमधुर हुने बताउनुभएको थियो । नेता किम जोङ–इलले रुसी राष्ट्रपतिलाई रुसी सहयोग प्राप्त गरे आणविक परीक्षण बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर नेता किमको नेतृत्वले मुलुककै शक्तिशाली आणविक परीक्षण गर्नुका साथै अमेरिकी भूमिमा समेत मार हान्न सक्ने उच्च क्षमताका क्षेप्यास्त्र परीक्षण गर्नुभएको छ । यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै हुनुहुन्छ ।

सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई