शनिबार, फाल्गुण ३ ,२०७५
कस्तो राम्रो मान्छे थियो आँखामा राखे पनि नबिझाउने
पोष्ट खबर     २०७५-०७-१०

उपेन्द्र निरौला

मर्नु त एक दिन सबैले पर्छ नै, ढिलो होस या चाडो गन्तब्य सबैको एउटै, जिउने क्रममा दु:ख गरियो, अरुलार्इ दुख दिइयो, रहर थिएन बाध्यता थियो । केबल जिउनका लागि अरुलार्इ लडाए, पछारे, समयअनुसार खुट्टा ताने होला, अनेक प्रपञ्च गरे, म अघि बढे । आफ्नो ब्याक्तिगत जीवनमामा सुधार ल्याउन कसै न कसैलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा खिन्न तुल्याए ।

जुन काम अनि कुरा हरु नगर्नुपर्थ्यो, नगरेको भए पनि हुन्थ्यो होला, तर म समय र परिस्थितिको बाध्यतामा परे, मसँग अर्को विकल्प देखापरेन, त्येसैले गर्न बाध्य बने ।

कुनै बेला बोलिवचनले, कुनै बेला व्यवहारले गल्ति गरे । अनुकुल मिलेसम्म मध्यपान गर्ने म, धेरै समय त नसामा राम्रो काम गरे भनी ठानिएको व्यवहारले अरुलार्इ चोट पुर्यायोहोला, अनगिन्ति क्षणहरु, नसामा रमाउँदै, सान्सारिक बन्धनबाट भागेर आफूभित्र हराउँदै गरिएका अनगिन्ती क्रियाकलापहरु जसलाई चाहेर पनि सम्झन सक्दिन ।

मन न हो सानोतिनो कुराले पनि दुखी भैहाल्छ। कसैलाई क्षणिक खुशी तुल्याउनको लागि भए पनि झुटो बोलेको छु, पूरा गर्नै नसक्ने आशा देखाउँदै बाचाहरु गरेहुँला, अपेक्षा पूरा नभएका मनहरुले धेरै-धेरै गुनासो गर्दै होलान ।

सम्झन्छु, विचार गर्छु, पूर्ण कोहि पनी छैन, मान्छेले नै गल्ति गर्छ, येस्तै येस्तै वास्तविकतामा भुलियो, अरुबाट सिकियो या आफ्नै मन मस्तिस्कबाट परिचालित मेसिन बनियो, दोषी थियो त म हुर्केर हिंडेको बाटो अनि वरिपरिको समाज ।

सबैकुरा पढेर जानिदैँन भनिन्छ, व्यवहारिक रुपमा परेर सिक्दै अरुलार्इ चोट पुर्याउने काम कुरामा कमी भयो होला या प्रविधिले अझ सक्षम बनायो ठम्याउन सक्दिन । म आफूलाइ सक्षम ठान्छु, अरुको बारेमा सोच्ने रत्तिभर फुर्सद छैन मलाई, आफैंमै केन्द्रित रहन्छ मेरो बोलाइ लेखाइ अनि व्यबहार  ।

भनिन्छ दुई दिनको जिन्दगी तर खैर जन्मेदेखि मृत्यु सम्मको यो बबन्डर, रिस राग, खिचातानी,लडार्इ झगडा, वैमनस्यता, लोभ-लालचको लामो फेहरिस्त । केबल मुलुकको लागि, मेरो व्यक्तिगत विकास उन्नतिका लागि, असक्षम, निर्धा, दिन-दुखीहरुलाई किनारा लगाउँदै, आफू भन्दा सक्षम सामर्थीहरुसँग सके पनि नसके पनि सिघौरी खेल्न बाध्य हुन्छु म ।

मेरा चाहानाहरु असीमित छ्न, एक पछि अर्को क्रमिक आउने समुद्रको छाल सरह, आवश्यकताभन्दा धेरै पूरा हुन नसक्ने रहरहरुको लस्कर लामो देखिन्छ । मलार्इ लाग्दैन कि म यो संसारमा दुई (चार दिनको लागि घुम्न आएको, माया मोहको सञ्जालमा निस्कन नसक्ने गरि बाँधिएको,  सोच्छु यही हो जिन्दगी, म जिएको छु येस्तै हो जिन्दगी ।

मेरा पीरहरु, मेरा ब्यथाहरु, संघर्षमा बितेका ती दिनहरु अनि नलेखिएका कथाहरु, पूरा नभएका चाहाना अनि रहरहरु हावाको झोक्काले उडाए सरह सबै सबै उडि जानेछ्न शून्यतामा । 

कमाइएको इज्जत, प्रतिष्ठा अनि दुखाएका मनहरु, संधै लाई छोडेर जानुपर्ने छ। सायद मैले गरेका गल्तिहरु माफ हुनेछ्न, यदि कोही वरपर अन्तिम बिदाइ गर्न भेला भएछ्न भने, एकले अर्कालाई भन्ने छ्न, कस्तो राम्रो मान्छे थियो आखामा राखे पनि नबिझाउने ।

प्रतिक्रिया