शनिबार, फाल्गुण ३ ,२०७५
‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ' : मन्त्री बास्कोटा
पोष्ट खबर     २०७५-१०-२९


खस्यौली : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले राम्रा काम भन्दा नकारात्मक काम बढी  देखाएर सरकारलाइ  खेदेको दाबी गर्दै  ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भनेझैं  सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढाउने कुरा व्यक्त गर्नु भएको छ ।   

नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले हिजो बुटवलमा गरेको साधारणसभामा उहाँले उक्त कुरा भन्नुभएको हो । 

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पार्दै प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । 

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो । “श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो”, उहाँले भन्नुभयो । 

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गर्नुभयो । उहाँले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले सरकारको अरु केही नभए पनि गौतमबुद्ध विमानस्थलको कामलाई हेरेर विश्लेषण गर्न अनुरोध गर्दै प्रेस ऐेन जसरी पनि ल्याइने बताउनुभयो । नेपालको रु १२ अर्बको विज्ञापन बजारलाई रु २० अर्ब पु¥याउँदैछाँै उहाँले भन्नुभयो ।

मन्त्री बास्कोटाले लोकतन्त्र कसैको बपौति नभएको बताउदै  कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गर्नुभयो । वहाँले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको उल्लेख गर्दै कम्युनिष्ट नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउने थिएन भन्दै हरेक परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिष्ट र कांग्रेसको सहकार्यले भएको बताउनु भयो ।   


उहाँले केही दिनमा प्रदेश तहबाट नयाँ सञ्चारग्राममार्फत प्रेससम्बन्धी काम हुने गरी बजेटसमेत व्यवस्थापन भइसकेको बताउनुभयो । शाखा सभापति यानेन्द्र जिसी, महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्ट, केन्द्रीय सदस्य वसन्त गिरी, पूर्वसांसद विनोद पहाडीलगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा बोल्नुभएको थियो । 

प्रतिक्रिया